झापा । 

झापाको दमक नगरपालिका र झापा गाउँपालिकाबाट प्रतिबन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका वडा नं. २ का २६ बर्षिय सुशिल आङदेम्बे र सोही मोटरसाइकल पछाडी सवार सोही स्थानका २६ बर्षिय सुरज लावती लिम्बु र कमल गाउँपालिका वडा नं.४ का ३६ बर्षिय टेकेन्द्र कटुवाल रहेका छन् । 

प्रहरी चौकी टाघनडुब्बाको प्रहरी टोलीले आइतवार भारतबाट नेपालतर्फ आउँदै गरेको को.२६ प.८१४० नं.को मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल आङदेम्बे लिम्बुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ८ ग्राम २२० मिलिग्राम फेला परेको थियो । लागूऔषध फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भईरहेको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दमक–८ डाँफे चौकमा कटुवाललाई शंका लागेर चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २ ग्राम ५०० मिलि ग्राम र सादा मोबाईल सेट १ थान फेला परेको जनाएको छ । 

कटुवाललार्ई सोमवार नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।