मेचीनगर । 

सहकर्मीलाई पानीमा चोबल्दै, खेदाउँदै निर्घात कुटपिट गरेका झापामा सशस्त्र प्रहरीका इन्स्पेक्टर नमप्रभाव राईलाई कार्वाहीमा परेका छ्न् । प्रहरी संगठनले घटना बाहिरीए लगतै सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले राईलाई निलम्बन गरेको छ । सशस्त्रका एआइजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन भएको सशस्त्र प्रहरी बल नेपाल मुख्यालयका प्रवक्ता तथा एसएसपी राजेन्द्र खड्काले बताए ।

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी सुनसरीका डीआईजी अन्जनीकुमार पोखरेलले घटना भएको भोलिपल्ट बुधवार नै बाहिनीका एसपी विक्रम हुमागाईँको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको थियो । डीआइजी पोखरेलकै निर्देशनमा इन्स्पेक्टर राईसहित टोली सादा पोशाकमा झापा खटिदा संगठनकै बदनाम हुने गरी घटना घटेकोले मुख्यालयले एआइजी गौतमको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

एआइजीको नेतृत्वमा गठित छानबिन समितिले इन्स्पेक्टर राईलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाउन सक्छ, प्रवक्ता खडकाले भने, ‘त्यो अधिकार छानबिन समितिलाई दिइएको छ, अब समितिले कसरी प्रक्रिया अघि बढाउँछ, त्यो समितिको कुरा हो ।’‘सादा पोशाकमा खटाउनेलाई विशेष सूचना संकलनका पठाउन गरिन्छ,’ प्रवक्ता खडकाले भने, ‘नियमावली विपरीत संगठनको बदनाम हुने गरी पैसा उठाउन चाहिँ सादा पोशाकमा खटाउन पठाइँदैन ।’‘झापा घटनाको हकमा किन र के प्रयोजनका लागि बाहिनीले इन्स्पेक्टर राईसहितको टोलीलाई खटाएको हो, स्वीकृति लिएर हो कि नलिई हो, त्यो एआइजी नेतृत्वको समितिले अवश्य छानबिन गर्छ,’ उनले भने ।

यता इन्स्पेक्टर राईको कुटपिटबाट घाइते भएका पाँच जना सशस्त्रलाई बराह वाहिनी सुनसरीमा राखेर उपचार भइरहेको जनाइएको छ । ‘घाइतेहरूको उपचार नभएको हाल्ला मात्र हो,’ उनले भने, ‘बाहिनीमा हाम्रै एक जना चिकित्सक छ, आवश्यक परेको खण्डमा बाहिरका चिकित्सक बोलाएर पनि घाइतेहरूको उपचार गराइन्छ ।’

मंगलबार राती करिब साढे १० बजेको समयमा मेचीनगर नगरपालिका ५ स्थित नकलबन्दामा सादा पोशाकमा रहेका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाले गाई गोरु कटाएको भन्दै ड्युटीमा खटिएका सशस्त्रका वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेश बहादुर तामाङ, रामबहादुर कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीलाई मेची नदीको पानीमा चोबल्दै, खेदाउँदै भाटैभाटाले कुटेका थिए । कुटाइ खानेहरू सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत थिए ।