बिर्तामोड । 

पछिल्लो समय अनियमित रुपमा हुने विद्युत आपूर्ती बन्दका कारण बिर्तामोड क्षेत्रका उद्योगी, व्यवसायी मारमा परेको भन्दै बिर्तामोड उद्योग बाणिज्य संघले बिद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । 

संघले शुक्रवार (आज) नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख सुधिरकुमार राय तथा प्रशासन प्रमुख दीपक ढकाललाई बिद्युत आपूर्ति सहज बनाउन माग राख्दै ज्ञापनपत्र बुझाएको हो । 

संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, राधिका चुडाल, जीवन खड्का, बिशाल थापालगायतले प्रमुख राय समक्ष ज्ञापनपत्र बुझाएका हुन् । 

जेठको दोस्रो साताबाट अधिक रुपमा गर्मी बढेसँगै विद्युतको आवश्यकता समेत बढेर गएको बताउँदै बिर्तामोडमा जनघनत्व पनि वर्षेनी रुपमा बढीरहेका बेला विद्युत प्राधिकरणले विद्युतीय उपकरण (तार, ट्रासफर्मर, पोल) लगायतको पनि स्तरवृद्धिसँगै पहुँच बढाउनु पर्ने संघले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । 

बिर्तामोड उद्योग वाणिज्य संघ अनियमित रुपमा हुने विद्युत कटौटी तत्काल रोक्नुपर्ने, ओभरलोड भएर ट्रासफमरमा हुने आगलागी लगायतको क्षति कम गर्नका लागि यस विद्युत प्राधिकरणले ट्रासफमरको क्षमतामा वृद्धि गर्नुपर्ने, बिर्तामोड बजार क्षेत्रमा अव्यवस्थित रुपमा गाडीएका तथा छाडिएका विद्युत पोललाई तत्काल व्यवस्थित गर्दै पोलमा अनावश्यक रुपमा रहेका तार हटाएर आगलागीको जोखिम कम गर्न संघले माग गरेको छ । 

त्यसैगरी विद्युतमा अघोषित रुपमा हुने लोडसेडिङ तत्काल अन्त्य गर्दै नियमित रूपमा विद्युत उपलब्ध गराउनु पर्ने, विद्यत अनियमति हुँदा इलेक्ट्रोनिक सामान विग्रने गरेकाले छिनछिन रुपमा हुने विद्युत कटौतीलाई तत्काल रोक्नु पर्ने माग संघले अघि सारेको छ । ज्ञापन पत्रमा भनिएको छ ‘संघको मागलाई बेवास्ता नगरिदिन सम्बन्धीत निकायलाई गम्भिर ध्यानाकर्षण गराउदछ ।’