• प्रकाश उप्रेती 

मेचीनगर ।

पूर्वी नाका  काँकरभिट्टामा तैनाथ सुरक्षाकर्मी र भन्सार छलि भारतबाट मालसामान नेपाल भित्र्याउने महिला व्यापारीबिच आइतबार झडप भएको छ ।

विगत केहि दिनदेखि पूर्वी सिमानामा सशस्त्र प्रहरीले सामान ल्याउनमा कडाई गरेपछि तनाव भएको हो । बर्षौदेखि पेशेवर रुपमा भारतबाट सामान ल्याउँदै गुजारा चलाउँदै आएका महिला ब्यापारीले नाकालाई सहज बनाउन भन्दै सिमामै आन्दोलन गर्दा तनावग्रस्त बनेको हो । 

आन्दोलनका क्रममा काँकरभिट्टाको सुरक्षा चेकजाँच क्षेत्र केहिबेर तनाव ग्रस्त बनेको थियो भने शसस्त्र प्रहरीबिच हात हालाहालको स्थिती बनेको थियो । 

आन्दोलनका कारण पूर्वीनाकाबाट भित्रने मालवाहक गाडीहरु आवत–जावतमा समस्या भएको थियो भने करिब दुई घण्टा नाका नै ठप्प बनेको थियो । थोरैतिनो सामान बोकेर वारीपारी गर्ने नागरिकलाई नाकामा कडाइ गर्न नहुने महिलाले माग राखेका थिए ।  राज्यको नीति नियममा रहेर नाकामा कडाइ गरिएको प्रशासनको भनाई थियो । 

गरिखाने वर्गलाई अनावयश्यक दुःख दिँदै आफुहरुको रोजिरोटी नै खोसिदिएको आन्दोलनमा सहभागी महिलाहरुको गुनासो छ भने प्रहरी प्रशासन भने यो आरोप स्वीकार्न तयार छैन । ‘राज्यको नीति अनुसार हामीले कडा गरेका हौँ, भन्सार काटेर सामान ल्याउन हामीले रोकेका छैनौँ र हामीले कसैलाई अनावयश्यक दुःख पनि दिएका छैनौँ,’ सशस्त्र प्रहरीका डिएसपी निर्मल थापाले भने ‘राज्यको नियम सबैले मान्नपर्छ ।’

आन्दोलनका क्रममा सयौँ महिलाहरु सहभागी रहेकाले नाकामा भएको आन्दोलन नियन्त्रणमा लिन प्रहरीलाई नै सकस परेको थियो । नेपाल प्रहरीका प्रहरी निरिक्षक होम अधिकारी र सशस्त्र प्रहरीका डिएसपी थापा नै बाक्लो संख्यामा सुरक्षाकर्मी लिएर आन्दोलन स्थलमा खटिएका थिए । सयौंको संख्यामा भारतबाट सामान ओसार–पसारमा संलग्न छ्न् ।