झापा ।
झापाबाट बिभिन्न मुद्दाका फारार रहेका चार जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयनका लागि आइतवार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको हो ।
अदालतको आदेश अनुसार कैद भुक्तानको लागि चारै जना फरार प्रतिवादीलाई कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्ने फरार प्रतिवादीहरुमा झापा जिल्ला अदालतको मिति २०७९/०८/१८ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा १ महिना कैद र पिडित राहत कोषमा २ सय रुपैयाँ क्षतितिपुर्ति शुल्क जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका गौरादह–१ का २५ बर्षिय बिनोद चौधरी, अदालतको मिति २०७९/०३/१९ गतेको फैसला अनुसार चोरी मुद्दामा १ बर्ष ४ महिना कैद र १० हजार रुपैयाँ जरिवाना र जाहेरवालालाई २० हजार रुपैयाँ क्षतिपुर्ति शुल्क जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका बिर्तामोड–४ का ३० बर्षिय बिकि साहलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी अदालतको मिति २०७९/०३/१९ गतेको फैसला अनुसार चोरी मुद्दामा १ बर्ष ३ महिना कैद ७ हजार रुपैयाँ जरिवाना फैसला भई फरार र बिर्तामोड–३ का ३१ बर्षिय छोटु भन्ने महोम्द मियाँ र अदालतको मिति २०७५/१०/२१ गतेको फैसला अनुसार लागुऔषध (हेरोइन) मुद्दामा ४ महिना कैद फैसला भई फरार रहेका बुद्धशान्ती–३ का ३७ बर्षिय समिरकुमार प्रधान रहेका छन् ।