झापा । 

भद्रपुर बिमान स्थलबाट सेनेटरी प्याडमा लुकाएको लागुऔषध ब्राउनसुगरसहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौ नारायण थान डेरा गरी बस्ने अन्दाजी २६ बर्षिया एन्जल राई रहेकी छिन् । 

झापाको भद्रपुर नगरपालिका वडा नं.९ मा रहेको भद्रपुर बिमानस्थमा बिमान सुरक्षा गार्ड झापाको प्रहरी टोलीले सुरक्षा चेकजाँच गर्ने क्रममा यति एयरलाइन्सद्वारा भद्रपुरबाट काठमाडौ जान लागेकी राईलाई ब्राउन सुगरसहित शनिवार पक्राउ गरिएको हो । 

राईले लगाएको भित्रि बस्त्र (पेन्टी) मा प्याडको बीच भागमा प्लास्टिकमा पोको पारेर लैजान लागेको ब्राउन सुगर १५ ग्राम ६६० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएकी राईको साथमा रहेको नागरिकता  र रेड्मी मोबाईल थान १ समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । केहीदिन अघि पनि  लागूऔषधसहित उक्त बिमानस्थलबाट दुई जना महिला पक्राउ परेका थिए ।