झापा । 

झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका दुई जना प्रतिबादी झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी उर्लाबारी नगरपालिका–१ का ५३ बर्षिय चन्द्रबहादुर लिम्बु र चोरी मुद्दाका फरार प्रतिबादी भद्रपुर नगरपालिका–.८ का १९ बर्षिय कैलास राई छन् । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले शुक्रवार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

अदालतको आदेशले अनुसार प्रतिबादीहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लिम्बु झापा जिल्ला अदालतको मिति २०७६/०३/१८ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा ५ महिना ४ दिन कैद २ हजार रुपैयाँ जरिवाना भई फरार रहेका थिए । उनलाई प्रहरी तथा न्यायिक हिरासतबाट २६ दिन कैद कट्टा भइसकेको र बाँकी रहेको कैद ५ महिना ४ दिन कैदका लागि कारागार चलान भएका हुन् । 

राई झापा जिल्ला अदालतको मिति २०७९/११/२५ गतेको फैसला अनुसार चोरी मुद्दामा १ महिना कैद ९ हजार रुपैयाँ जरिवाना भई फरार रहेका थिए । उनलाई पनि प्रहरी तथा न्यायिक हिरासतबाट १७ दिन कैद कट्टा भइसकेको र बाँकी रहेको कैद १३ दिन कैदको लागि कारागार पठाईको प्रहरीले जनाएको छ ।