मेचीनगर । 

मेचीनगर बासीले अब चाँडै नै कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा पाउने भएका छन् । मेचीनगरबासीले विगतलामो समयदेखि ठुलो समस्या झेल्दै आएको बिषयलाई मध्यनजर गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा कार्यक्रम लागु गर्न सरोकारवाला निकायसँग आवश्यक छलफल अगाडी बढाएका हुन् । 

मेचीनगरमा किसान र कृषि क्षेत्रमा आबद्ध हुनेको संख्या ठुलो छ । उनीहरुले विभिन्न कारणले कृषि क्षेत्रमा क्षती व्यहोर्नु परिरहेको भए पनि अब कृषि बिमा वापत उनीहरुले राहात पाउने नगरप्रमुख बुढाथोकीले बताए । साथै उनले मेचीनगर क्षेत्रमा हुने हात्ती, बादर, स्याललगायतका जंगली जनावरबाट हुने क्षतिको क्षतिपुर्ति बिमा वापत उपलब्ध गराउन सके त्यस समस्याबाट पनि मेचीनगरबासी मुक्त हुने उनको भनाई छ । 

नगरप्रमुख बुढाथोकीको समन्वयमा बिहिबार नगरपालिकामा उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत महेश पराजुली, विभिन्न वडाका वडाध्यक्ष, कार्यापालिका सदस्यलगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा नेको इन्स्योरेन्सका प्रतिनिधिसँग कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा सम्बन्धि छलफल सम्पन्न भएको मेचीनगर खाद्य विश्लेषक दिपेन्द्र कार्कीले जानकारी दिए ।