धनकुटा। 

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिराषत कक्षको निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीहरुलाई नागरिकको सुरक्षा, अपराध नियन्त्रण र संगठनको हितको लागि इमान्दारी पूर्वक पदीय दायित्व निर्वाह गरी प्रहरी काम कारवाही गर्न निर्देशन दिएका छन् ।

नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने प्रहरीको प्रमुख जिम्वेवारी रहेको बताउदै समाजमा अपराध हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यका लागि सम्पुर्ण प्रहरी कर्मचारीहरुले आपसी भाईचारा, सहयोगी भावना साथ इमान्दारी पुर्वक आ–आफ्नो पदीय दायित्व निर्वाह गर्नु पर्ने उनले बताएका ह्न् ।

शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुको पिर मार्का र समस्यालाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्न, सभ्य र शिष्ट भाषा प्रयोग गरी आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा तालुक कार्यालयबाट भएका आदेश निर्देशनलाई तल्लो दर्जाका कर्मचारी समेतलाई जानकारी गराई अक्षरस पालना गर्न गराउन उनले निर्देशन दिए । 

उनले आ–आफनो जिम्मेवार एरिया ईलाकाहरुमा शान्ति सुरक्षा कायम राख्न लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण, फरार प्रतिबादी खोजतलास गरी पक्राउ गर्न, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न र सवारी दुर्घटना न्युनिकरण तथा सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् । त्यसैगरी कुनैपनि प्रहरी आपराधिक गतिबिधि तथा  त्यस्ता प्रवितिका ब्यक्तिहरुसँग साँठगाँठ गरेको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने र संलग्नलाई कठोर र निर्मम भएर कारवाही गरिने समेत उनको भनाई थियो ।