झापा । 

झापाबाट पाँच जना फरार प्रतिबादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार परार रहेका प्रतिवादीहरु पक्राउ परेका हुन् । 

बिभिन्न मुद्दामा फरार रहेका प्रतिबादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी आइतवार फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । 

झापा जिल्ला अदालतको मिति २०७९/०३/०८ गतेको फैसला अनुसार बन्यजन्तु चोरी मुद्दामा ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना भई फरार रहेका कचनकवल –३ का २२ बर्षिया शेरबहादुर तामाङ भन्ने संजिब तामाङ, अदालतको मिति २०७८/०५/२८ गतेको फैसला अनुसार डाका अपराधिक उपद्रव सम्बन्धी कसुर मुद्दामा ८ महिना कैद र १० हजार रुपैयाँ जरिवाना भई फरार रहेका बिर्तामोड–४ का १८ बर्षिय सांकेतिक नाम ‘मानस’, अदालतको मिति २०७८/०५/२८ गतेको फैसला अनुसार डाका अपराधिक उपद्रव सम्बन्धी कसुर मुद्दामा १ बर्ष कैद र २० हजार रुपैयाँ जरिवाना भई फरार रहेका बिर्तामोड–३ का २० को सांकेतिक नाम  ‘संसार’ लाई प्रहरी पक्राउ गरेको हो । 

त्यसैगरी झापा जिल्ला अदालतको मिति २०७३/०२/१३ गतेको फैसला अनुसार मोटरसाइकल चोरी मुद्दामा १ महिना १५ दिन कैद र ३ लाख १४ हजार ८५० रुपैयाँ जरिवाना भई फरार रहेका कनकाई–७ का ३१ बर्षिय सुरज चौधरी र अदालतको मिति २०७८/०९/०७ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा १ महिना कैद र २ हजार रुपैयाँ जरिवाना भई फरार रहेका मेचीनगर–१० का ४२ बर्षिय जीबन कुमार लामालाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थिति गराएको हो । 

अदालतको आदेश अनुसार उनीहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।