झापा ।
नेपाल प्रेस युनियनको जिल्ला अधिवेशनको मिति नजिकिएसँगै झापा नेतृत्वका लागि बहस शुरु भएको छ । बैशाख ३१ गते हुने नेपाल प्रेस युनियन झापाको १० औं अधिवेशनका लागि अध्यक्षमा आकांक्षीहरु पनि बढ्दै गएका छन् ।
नेपाल प्रेस युनियनको अध्यक्षका लागि यसअघि पत्रकार राजेन्द्र गौतम, सुरेन्द्र भण्डारी, गिरीराज भट्टराईले आकांक्ष ब्यक्त गरिसकेका छन् भने इश्वर अधिकारीले पनि अध्यक्षका लागि आकांक्ष ब्यक्त गरेका छन् ।
विगतका दुई अधिवेशनमा गौतमले नेतृत्वका लागि दाबी गरेपनि अवसर नपाएकाले तेस्रो पटकको यस अधिवेशनमा नेतृत्व पाउने अपेक्षा गरेका छन् । उनले झापामा सर्वसम्मत नेतृत्व चयन गरेर संगठनलाई थप गतिशील र प्रभावकारी भूमिकामा स्थापित गर्नुपर्ने बताउँदै आएका छन् ।
गौतमले श्रमजीवी पत्रकारको हक, हित र सुरक्षाको सवालमा हिजो पनि अग्रमोर्चामा उभिएको र नेतृत्वमा पुगेपछि त्यसलाई अझ सशक्त र प्रभावकारी ढंगले सम्पादन गर्ने बताएका छन् ।
२०४६ सालदेखि नेविसंघमा संगठित भएर लोकतन्त्र र पत्रकारितामा प्रवेश गरेका गौतम पत्रकारितामा सक्रिय हुँदा शाही सत्ताको राप, तत्कालीन शाही सेना तथा प्रहरीको धरपकड र थातथलोबाट समेत विस्थापित बनेका थिए । अवसरबाट विमुख भएका गौतमले संगठन र सम्बद्ध पक्षले न्याय गर्नेमा ढुक्क छन् ।
हाल युनियनका अग्रज तथा पार्टीका नेतृत्व पार्टीको कामको सिलसिलामा जिल्ला बाहिर रहेका र फर्किएपछि थप सर–सल्लाह गरेर सहमतिमै नेतृत्व चयन हुने गौतमले बताए । अहिले प्रेस युनियनको नेतृत्व सबल र सृद्धढ धारबाट जानु पर्ने परिस्थिति भएकाले सहमतिको बिकल्प नभएको गौतमको भनाई छ । आसन्न जिल्ला अधिवेशनमा सबैका साथ, सहयोग र सहानुभूति अवश्य प्राप्त हुने बताउँदै सहमति बाटै नेतृत्व चयन प्रयास भइरहेको गौतमले बताएका छन् ।
यता इश्वर अधिकारीले अध्यक्षका लागि संगठनमा आफुले पहिलेदेखि कुरा उठाइरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ झापा र नेपाल प्रेस युनियन झापाको पूर्व कोषाध्यक्षको जिम्मेवारी सम्हालिएसकेका अधिकारीले पनि अध्यक्षमा आकांक्ष ब्यक्त गरेका छन् । उनी भद्रपुरबाट सञ्चालित नागरिक एफएमका सम्पादक तथा आँखा डटकमका सम्पादक तथा प्रकाशकसमेत हुन् ।