बिराटनगर ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले शनिवार (आज) नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमणको क्रममा स्वाभिमान र ईमान्दारीका साथ ट्राफिक व्यवस्थापनमा खटिन सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
उनले कार्यालयलाई सफा, सुन्दर र उत्कृष्ट बनाई इमान्दारी पुर्वक संगठनको श्रीबृद्धिमा सम्पुर्ण प्रहरी कर्मचारीहरु आपसमा भाईचाराको भावनाका साथ लागि पर्नु पर्ने बताए । प्रहरीले सदैव आफ्नो पदिय दायित्व अनुसारको जिम्मेवारी तथा कर्तब्य निर्वाह गरी दुखी, पिडित, शोषित, गरिव असहायहरु प्रति आत्मिय भावनाका साथ आम सेवाग्राहीहरुमा समान ब्यवहार गर्नु पर्ने उनले बताए ।
उनले ट्राफिक प्रहरीले चेकिङकको क्रममा अभद्र ब्यवहार तथा अनैतिक कार्य नगर्ने, आम नागरिकहरुमा सडक सु(शासनको महसुस हुने गरी ट्राफिक ब्यवस्थापन मिलाउने, चेकिङको क्रममा कसैलाई दुःख दिने, आर्थिक प्रलोभनमा पर्ने तथा गैह्र ब्यवसायिक कार्य नगर्ने, यदि कसैले गरेको पाईएमा कारवाहीको भागेदार हुनु पर्ने तथा राम्रो काम गर्नेलाई पुरस्कृत गरिने बताए।
साथै सवारी दुर्घटना न्युनिकरण गर्न आवश्यक चेक प्वाईन्ट राख्ने तथा सवारी चालक, पैदल यात्रीहरुलाई ट्राफिक प्रशिक्षण दिई सवारी दुर्घटना न्युनिकरण गरी जन धनको क्षेति नहुने गरी ट्राफिक ब्यवस्थापन मिलाउन समेत उनले निर्देशन दिए । निर्देशनको क्रममा मोरङ र सुनसरी जिल्लामा कार्यरत सम्पुर्ण ट्राफिक प्रहरी पोष्टका इन्चार्जहरु समेतको उपस्थिति रहेको थियो । साथै निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको समेत निरीक्षण गरेका थिए ।