झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नं. ६ मेचीडाँडामा रहेको ऐलानी जग्गाको जग्गा धनी प्रमाण पुर्जा उपलव्ध गराई दिने भन्दै किर्ते गरी नक्कली जग्गा धनि दर्ता प्रमाण पुर्जा तयार पारी रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मेचीनगर नगरपालिका वडा नं. ६ का ७५ बर्षिय भुपध्वज दाहाल र सोही स्थानका  अन्दाजी ७३ बर्षिय ज्ञानबहादुर गिरीलगायतले विभिन्न मितिमा किर्ते गरी रकम लिएको खुलेको हो ।

सोही निवेदनका आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोली आरोपित ज्ञानबहादुर गिरीलाई पक्राउ गरेर झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जनाइएको छ । साथै उक्त ठगीमा संलग्न भुपध्वज दाहाल फरार रहेकोले उनको खोजतलास गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले निवेदकहरूसँग १० हजारदेखि ७० हजार रुपैयाँसम्म रकम असुल गरेपछि  निवेदकहरूको फोटो टाँसिएका रातो मसीले सहीछाप समेत गरी नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा तयार पारी दिएकाले उनीहरुलाई आवश्यक कार्वाही गरिदिन जिल्ला प्रशासन कार्यालय झापामा निवेदन प्राप्त भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार थप ७ जना पिडित व्याक्तिहरु सम्पर्कमा आइसकेको र निवेदन आउने क्रम जारी रहेकोले अझै ५०÷६० जना पिडित रहेको हुन सक्ने देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।