- राजु बराल
भद्रपुर ।
झापा उद्योग बाणिज्य संघको ५४ औँ साधारण सभा तथा २४ औँ अधिवेशन भद्रपुरमा बिहीवार (आज) भएको छ । झापा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज पनेरु(राजु) को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका नगर/जिल्लाका उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि बैद्यले उद्योगी–व्यापारीहरुको अवस्था डामाडोल भएकोले ६ महिनादेखि बैँकले वृद्वि गरेको व्याज नघटाए महासंघको नेतृत्वमा अब चाँडै आन्दोलनको कार्यक्रम घोषणा गरिने बताए ।
कार्यक्रममा प्रमुख अतिथि वैद्य, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उपमेयर राधा कार्की, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नरेन्द्रकुमार खड्का, कृतिपुर उद्योग बाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्य, झापा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही कार्यक्रमका बिच पत्रकारसहित संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । पत्रकार राजवावु शंकर, संघका पूर्व अध्यक्षहरु राजेन्द्र घिमिरे, राजकुमार अग्रवाल, उमेश डालमिया, महाविरप्रसाद गोयल लगायतलाई सम्मान गरिएको थियो । संघले पत्रकार राजवावु शंकरलाई नगद पाँच हजार ५ सयले पुरस्कृत गरेको छ ।
कार्यक्रममा स्वागत विशिष्ट सदस्य अजय साहेवाला गरेका थिए भने सञ्चालन महासचिव पंकजकुमार शर्माले गरेका थिए ।संघको नयाँ नेतृत्व चयनका लागि बैशाख २८ गते अधिवेशन हुने बताइएको छ ।