बिर्तामोड ।
नेपाल अलैंची ब्यवसायी महासंघ केन्द्रिय समितिले अलैंची कटिङ, ग्रेडिङ र प्याकेजिङमा संलग्न मजदुरलाई बिर्तामोडमा अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ ।
महासंघको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा भएको अभिमूखिकरण तालिमको उद्घाटन मंगलबार (आज) बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी हुन् । तालिमको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी नगर प्रमुख प्रसाईले बिदेश जाँदा बिभिन्न समस्या झेल्नु पर्ने भएकाले सीप सिकेर आफ्नै देशमा ब्यवहारमा उतारी आत्मनिर्भर बन्न आग्रह गरिन् ।
महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत महासंघकी केन्द्रिय उपाध्यक्ष पार्वता बिमली खरेलले गरेकी थिइन् ।
कार्यक्रमको औचित्यमाथि प्रकाश अध्यक्ष भट्टराईले पारेको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, नरेशलाल श्रेष्ठ, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमकाबिच महासंघले नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया र नरेशलाल श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा महासंघले केही समय अघि बैदेशिक रोजगारीबाट फर्केका केही ब्यक्तिहरुलाई तालिम दिएको थियो । सोही तालिममा सहभागीता जनाउनेलाई प्रमाणपत्रसमेत प्रदान गरेको थियो ।
उद्घाटन कार्यक्रमको सञ्चालन महासंघका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले गरेका थिए । उद्घाटन कार्यक्रमको समापन महासंघका बरिष्ठ उपाध्यक्ष इन्द्रचन्द्र बिन्दलले गरेका थिए ।
उक्त अभिमूखिकरण कार्यक्रममा अलैंची कटिङ, ग्रेडिङ र प्याकेजिङमा संलग्न ८५ जना मजदुरको सहभागीता रहेको थियो । अभिमूखिकरण कार्यक्रमको सहजीकरण खाद्य गुण नियन्त्रण कार्यालय झापाका प्रमुख नारायणप्रसाद भट्टराईले गरेका थिए ।