सुरुङ्गा । 

होटल ब्यवसायी संघ झापाले कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा १२ दिने फुड फेस्टिवल महोत्सव गर्ने भएको छ । संघले सांस्कृतिक पर्यटन तथा प्रवद्र्धन गर्ने उदेश्यले बैशाख ११ गतेदेखि २३ गतेसम्म दोस्रो फुड फेस्टिवल महोत्सव २०८० गर्ने भएको शुक्रवार (आज) सुरुङ्गामा पत्रकार भेटघाट गरी जानकारी दिएको हो । 

सुरुङ्गास्थित कृषि उपज बजारमा आयोजना हुने महोत्सवमा बिभिन्न जातजातीका भेषभूषासहित खानाका परिकार रहने होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् ।

अध्यक्ष श्रेष्ठले भूकम्प र कोभिड कहरबाट थलिएर उठ्न नपाएका ब्यवसायीहरु अहिले आर्थिक मन्दीका कारण झन् थलिएका बताइन् । उनका अनुसार थलिएका ब्यवसायीलाई चलायमान बनाउँदै स्थानीय सांस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । 

mahotsab

फुट फेस्टिवलको मुख्य आयोजक होटल ब्यवसायी संघ झापा रहेको छ भने सह–आयोजक होटल ब्यवसायी संघ क्षेत्रिय समिति सुरुङ्गा रहेको छ ।  महोत्सव सम्पन्न गर्न बिभिन्न उप–समिति निर्माण गरिएको होटल ब्यवसायी संघ झापाका सचिव तथा महोत्सवका संयोजक खेम ओलीले जानकारी दिए ।

उक्त फुड फेस्टिवल महोत्सवमा राष्ट्रिय, अन्र्तराष्ट्रिय र स्थानीय स्तरका साथै जनजातीका संस्कृति र खानाका परिकार रहने संयोजक ओलीले जानकारी दिए । उनका अनुसार महोत्सवमा ३० वटा भन्दा वढि खाने परिकारका स्टलहरु रहनेछन् । 

महोत्सव सम्पन्न गर्न अनुमानित २९ लाख खर्च हुने र ३५ लाख रुपैयाँ आम्दानी गरी खर्च कटाएर रहेको रकम संघको अफिसलाई ब्यवस्थित गरिने योजना रहेको संयोजक ओलीले जानकारी दिए ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कालाकारहरुको प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ । पत्रकार सम्मेलन कार्यक्रमको सहजीकारण संघका महासचिव शिव पौडेलले गरेका थिए ।