झापा ।
लागूऔषध मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई झापाबाट प्रहरीले पक्राउ गरेर कैद भुक्तानको लागि कारागार चलान गरेको छ । मोरङ उर्लाबारी नगरपालिका वडा नं.१ का २८ बर्षिय उत्तम बि.क.(कामी) भन्ने रुद्र बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ सँगको समन्वयमा सोमवार पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतको मिति २०७८÷०३÷३१ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा फरार रहेका प्रतिबादी विश्वकर्मालाई पक्राउ गरी मंगलबार फैसला कार्यन्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।
अदालतको आदेश अनुसार उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विश्वकर्मालाई ५ बर्ष कैद÷सजाय र पाँचहजार रुपैयाँ जरिवाना तोकिएको थियो ।