झापा । 

झापाको हल्दिबारी गाउँपालिकाका सूचना नदिने सामुदायिक बिद्यालयहरू बिरूद्व राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरिएको छ। सूचनाको हकका अभियान्ता सुदीप गिरीले हल्दिबारीका सबै सामुदायिक बिद्यालयहरूमा सूचना मागेका थिए। गिरीले हल्दिबारीका १७ वटा सामुदायिक बिद्यालयमा सार्वजनिक सरोकारका बिषयमा सूचना माग गरेकोमा ७ वटा  बिद्यालयले मात्र सूचना दिएको जानकारी दिए । गिरीले सूचनाका हक प्रयोगगरी बिद्यालयको सुशासन र पार्दशितामा सम्बन्धित  सूचना माग गरेका थिए ।  केही बिद्यालयहरूले ऐनले तोकेको समय भित्र सूचना दिए पनि धेरै बिद्यालयहरूले सूचना नदिएको गिरीले बताए।

सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ बमोजिम बिद्यालयका सूचना अधिकारीहरूलाई सूचना माग गरिएको थियो । त्यसरी सूचना माग गरेपछि केहि बिद्यालयका सूचना अधिकारीले ऐनले तोकेको समय सिमा भित्र सूचना प्राप्त दिएको बताउँदै गिरीले तर, धेरैको प्राप्त नभएपछि दफा नौ बमोजिम बिद्यालयका प्रमुख अर्थात प्रधानध्यापकलाई सूचना उपलब्ध नगराउने सूचना अधिकारी बिरूद्व कारबाही गरि माग गरिएको सूचना उपलब्ध गराई पाउँ भनी उजुरी गरेका  थिए । 

 बिद्यालयका प्रधानध्यापकबाट समेत सूचना उपलब्ध नगराएपछि उनले हल्दिबारी शिक्षा शाखालाई जानकारी गराएको बताए ।  शाखा प्रमुखले सूचना दिनु भन्ने आदेश हुँदासम्म बिद्यालयका प्रधानध्यापकहरूले बेवास्ता गरेको, अटरी गरेकोले, बिद्यालयका प्रमुखवाट सूचनाको हक सम्बन्धी कानूनको पालना हुन नसकेको स्पष्ट भएको  गिरीले बताए । 

सार्वजनिक निकायको प्रमुख जस्तो सार्वजनिक पद ग्रहण गर्ने पदाधिकारीबाट कुनै मनासिव कारण विना नै संवैधानिक तथा कानूनी रुपमा नागरिकलाई प्राप्त अधिकारको वेवास्ता गरेको, कानून पालना गर्न गराउन तत्पर नदेखिएको, सूचना उपलब्ध गराउनु पर्ने संवैधानिक र कानूनी दायित्वबाट विमुख भई कानूनी व्यवस्थाको पालना हुन नसकेको स्पष्ट भएको गिरीको भनाई छ । गिरीले  सूचना उपलब्ध नगराएकोले सूचना पाउने मौलिक हक हनन भएको, चित्त नबुझेको तथा कानुन विपरित रहेको हुँदा ऐनको दफा ५ बमोजिम पुनरावेदन गरेको बताए।

  • सूचना नदिने बिद्यालयहरु  :

श्री हल्दीबारी माबि, श्री महेन्द्र मा बि, श्री सरस्वती माबि, श्री गरमकाली आबि, श्री धनुषा आबि, श्री सरस्वती आबि, श्री मोती आबि, श्री राष्ट्रिय एकता प्राबि, श्री जनता प्राबि, श्री दुर्गा देवी प्राबि रहेका छन्।

  • माग गरिएका सूचनाहरु : 

बिद्यालयको सूचना अधिकारीको विवरण भएको (फ्लेक्स) बोर्डको विवरणको  प्रमाणित प्रतिलिपी,  बिद्यालयमा हाल कार्यरत शिक्षक तथा कर्मचारीहरूको विवरण खुल्ने गरीको प्रमाणित कागजातको प्रतिलिपी, हालको बिद्यालय ब्यबस्थापन समितिका सबै पदाधिकारीहरूको विवरण खुल्ने गरीको प्रमाणित कागजातको प्रतिलिपी, आजका मितिसम्ममा विद्यालयमा सूचना पार्टी छ कि छैन ? सूचना अधावधिक कहाँ कहाँबाट कसरी गरिदै छ? बिद्यालयको आधिकारीक फेसबुक एकान्ट वा पेज छ कि छैन सो विवरण खुल्ने गरीको प्रमाणित कागजातको प्रतिलिपी, आजको मिति सम्ममा बिद्यालयमा गुनासो पेटिका वा गुनासो अभिलेखिकरण राख्ने पुस्तिका वा गुनासो सुनुवाइ संयन्त्र, गुनासो कार्यान्वयन गर्ने गरिएको छ कि छैन सो विवरणको प्रमाणित प्रतिलिपी माग गरिएको गिरीले बताए । 

त्यसैगरी आय व्यायको विवरण विवरण सार्वजनिक गर्ने गरिएको छ कि छैन ? भए सार्वजनिक गरिएको अन्तिम विवरणको प्रमाणित प्रतिलिपी, बिद्यालयको प्रोफाईल अधावधिक अन्तिम पटक कहिले कुन मितिमा गरिएको छ ? सो विवरणको प्रमाणित प्रतिलिपी,  विगत ५ वर्षमा बिद्यालयले प्राप्त गरेको अनुदान र सहयोग विवरणको प्रमाणित प्रतिलिपीलगायत माग गरिएको गिरीले जानकारी दिए ।