झापा ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित बसपार्कमा दुई कठ्ठा जग्गा सस्तो मूल्यमा बिक्रीमा रहेको भन्दै फसाएर रकम लिएर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कमल गाउँपालिका वडा नं ५ का ५२ बर्षिय बिजय राईले मोरङको उर्लाबारी नगरपालिका ४ का अन्दाजी ५२ बर्षिया बिष्णुमाया सापकोटा सुबेदी र अनिल बिश्वकर्मालाई अर्जुनधारा–११ स्थित बोलाएर बैना कागज समेत नगरी साथमा रहेको नगद ३२ लाख रुपैयाँ लिएर फारार भएका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनीमा प्राप्त उक्त सुचना अनुसार इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले फरार ब्यक्तिको खोजी शुरु गरेको थियो ।
प्रहरीका अनुसार नगदसहित दुई जना मानिसहरु इलामतर्फ गएको खुलेपछि जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वयमा इलामको प्रहरी टोलीले जिल्ला इलाम –७ पुरानो बसपार्कको देउराली होटलमा लुकेर बसेको अवस्थामा नगद १४ लाख ६५ हजार रुपैयाँसहित रामेछापको देउराली गाउँपालिका २ घर भई भक्तपुर बस्ने ३९ बर्षिय राजेश श्रेष्ठ र पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भई काठमाडौको गर्जुधारा बस्ने ५२ बर्षिय जनक रेग्मीलाई पक्राउ गरेको छ ।
त्यस्तै सोही घटनामा संलग्न रहेका मोरङको बेलबारी नगरपालिका–६ घर भई मेचीनगर नगरपालिका–६ बस्ने ५५ बर्षिय रणबहादुर पोख्रेल र कमल गाउँपालिका –५ का ५२ बर्षिय बिजय राईलाई इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले शुक्रवार अर्जुनधारा–११ स्थित थापा होटल एण्ड लजको कोठा नं १०१ बाट लुकेर बसेको अवस्थामा नगद १३ लाख रुपैयाँसहित पक्राउ गरेको गरेको प्रहरीले जनाएको छ । चारै जनालाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।