बाहुनडाँगी । 

भारतका पर्यटन अभियन्ता सुप्रितम राजवशुले मानवमा चेतना कम हुँदै गएको बताएका छन् । ग्रिन जेनेरेशन झापाले मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा आयोजना गरेको मानव र हात्तीवीचको सहअस्तित्व सम्बन्धी तीनदिने तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राजवशुले त्यस्तो बताएका हुन् ।

‘दुनियाँ मानवका लागि मात्र हो’, अभियन्ता राजवशुले भने–‘प्रकृति र जीव जन्तुको चाहिँ यहाँ केहि सहअस्तित्व छैन । लोभि पापीका कारण मानवले प्रकृति र जीवजन्तुलाई क्षति पुर्याइरहेको छ । प्राचिनकालदेखि हात्तीलाई मानवले गरेको सम्मान हराउँदै गएको छ ।’

कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष एवम् वर्दिया निकुन्जका पूर्व वाडेन रमेश थापा, दि काठमाडौँ पोष्टका पूर्व सम्पादक अखिलेश उपाध्याय, मानवअधिकार पत्रकार मञ्चका अध्यक्ष घनश्याम खड्का, नेकपा एमाले मेचीनगर–४ का अध्यक्ष तीर्थराज नेपाल, माओवादी केन्द्रका जिल्ला सदस्य मेघराज खड्का, समाजसेवी सागर शिवाकोटी, सशस्त्र प्रहरी काँकरभिट्टा वीओपीका प्रमुख डीएसपी निर्मल थापा लगायतले मानव र हात्तीबीचको द्वन्द, समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।

शुक्रबारसम्म चल्ने तालिमको सहजिकरण उज्यालो नेपालका अध्यक्ष थापा लगायतले गरिरहकेका छन् । तालिमको सहआयोजकका रुपमा विश्व वन्यजन्तु कोष नेपाल(डब्लुडब्लुएफ) रहेको छ ।

ग्रिन जेनेरेशन झापाका अध्यक्ष समिर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले र सञ्चालन सचिव मञ्जील देवानले गरेका थिए । वडाध्यक्ष कार्कीले सीमा क्षेत्रमा दुवै देशको सहकार्यमा मेची खोलाको बाँधमा ग्रिनवेल्ट, हात्तीलाई चाहिँने आहारको व्यवस्था रहेको बताए ।  हात्ती देखाउन पर्यटक भित्राउने र बाँझो रहेको २०० विगाह जग्गामा किसानहरुले माछा पालन गर्ने योजना रहेको उनको भनाई थियो ।