दमक । 

झापाबाट करणी मुद्दा, सवारी ज्यान मुद्दा र ठगी मुद्दाका फरार तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमक झापाको प्रहरी टोलीले तीनै जना फरार अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक–७ का ४५ बर्षिय पवन लिम्बु, दमक–३ का ३६ बर्षिय नगेन राई र दमक–८ का ४१ बर्षिय बेदप्रसाद सेडाई रहेका छन् । 

लिम्बु ज्यान मुद्दाका फरार, राई करणी मुद्दाका फरार र सेडाई ठगी मुद्दाका फरार अभियुक्त हुन् ।  लिम्बु र राई गत बिहीबार पक्राउ परेका हुन् भने सेडाई शनिवार पक्राउ परेका हुन् ।

लिम्बु झापा जिल्ला अदालतको मिति २०७५/०३/०५ गते भएको फैसला अनुसार सवारी ज्यान मुद्दामा फरार ब्यक्ति हुन् । राई झापा जिल्ला अदालतको मिति २०६७/११/१७ गते भएको फैसला अनुसार जबरजस्ती करणी मुद्दामा फरार ब्यक्ति हुन् भने सेडाई झापा जिल्ला अदालतको मिति २०६९/१२/२० गते भएको ठगी मुद्दामा फरार रहेका प्रतिवादी हुन् । 

अदालतको आदेशले उनीहरु तीनै जनालाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको थियो । लिम्बुलाई एक बर्ष ११ महिना ४ दिन, राईलाई ११ बर्ष र सेडाईलाई एक हजार रुपैयाँ जरिवाना र ५ दिन कैद तथा सजाय तोकिएको छ । 

उनीहरु तीनै जनालाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।