काठमाडौं । 

राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसंख्या रहेकामा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ जना रहेको छ ।

त्यस्तै, एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ पुरुष छन् । लैङ्गिक अनुपातमा हेर्दा कूल एक सय जना महिलामा पुरुषको संख्या ९५ दशमलव ५९ छ । विसं २०६८ को कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहँदा त्यस्तो लैङ्गिक अनुपात ९४ दशमलव १६ थियो ।

राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल २३ दशमलव आठ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा रहेको पाइएको छ । जुन २०६८ को तुलनामा एक दशमलव एक प्रतिशतले बढी हो ।

जनगणनाको विवरण अनुसार हिमाली तथा पहाडी क्षेत्रमा जनघनत्व क्रमशः कम हुँदै गएको र तराईमा प्रतिवर्गकिलोमिटर चार सय ६० बराबरको जनघनत्व रहँदा हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । मनाङमा प्रतिवर्गकिलोमिटर तीनजना बराबरको मात्रै जनघनत्व रहेको छ । काठमाडौँ उपत्यकामा प्रतिवर्गकिलोमिटर पाँच हजार एक सय ६९ बराबरको जनघनत्व छ ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी जनसङ्ख्या काठमाडौँ जिल्लामा रहेको छ । यस जिल्लामा कूल २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या छ । मनाङमा कूल पाँच हजार छ सय ५८ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रुपन्देही, झापा र सुनसरीमा सबैभन्दा बढी जनसंख्याको चाप परेको छ ।

यस्तै, मुस्ताङ, डोल्पा, रसुवा, हुम्लामा भने जनसंख्या कम रहेको छ भने तराई कूल जनसंख्याको ५३ दशमलव ६१ प्रतिशत जनसंख्या रहेको छ । त्यो भनेको तराई क्षेत्रमा मात्रै एक करोड ५६ लाख ३४ हजार छ जनाको बसोबास रहेको छ । पहाडमा ४० दशमलव ३१ प्रतिशत अर्थात् एक करोड १७ लाख ५७ हजार छ सय २४ बराबरको बसोबास छ । हिमाली क्षेत्रमा छ दशमलव शून्य आठ प्रतिशत अर्थात् १७ लाख ७२ हजार नौ सय ४८ को बसोबास छ ।

दश वर्षपहिले तराईमा ५० दशमलव २७ प्रतिशत, पहाडमा ४३ दशमलव शून्य एक प्रतिशत र हिमाली क्षेत्रमा छ दशमलव ७३ प्रतिशत जनसंख्याको बसोबास थियो । देशभर कूल ६६ लाख ६६ हजार नौ सय ३७ परिवार संख्या रहेको छ । आवासीय घर भने कूल ६६ लाख ६० हजार आठ सय ४१ रहेको छ । त्यसमध्ये घर तथा आवासीय इकाइको स्वामित्वमा समेत महिलाको सहभागितामा वृद्धि भएको छ । कूल ३१ दशमलव ५५ प्रतिशत परिवारमा परिवारमूली महिला रहेको छ । जुन, २०६८ को तुलनामा पाँच दशमलव ८२ प्रतिशत बढी हो ।