बिर्तामोड । 

कोशी प्रदेशका व्यवसायीले सरकार समक्ष आफूहरुलाई गरिखान सक्ने बाताबरण सृजना गर्न माग गरेका छन् । उनीहरुले सरकारले आफूहरुलाई गरिखान सक्ने बातावरण सृजना नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

झापाको बिर्तामोडमा विहीवार (आज) भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौं प्रदेश सभामा सहभागी व्यवसायीले राज्यलाई खरबौं रुपैयाँ कर तिर्ने व्यवसायीहरु अहिले सडकमा आउँदा समेत राज्य मौन बसेको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकालले राज्यले अब पनि ब्यवसायीलाई नहेर्ने हो भने सडकमा उत्रनुको विकल्प नरहेको बताए । उनले भने ‘कोरोना कहरका कारण सुस्ताएको व्यवसाय अहिले आर्थिक मन्दीका कारण झन् धरासायी बनेको छ । यस्तो अवस्थामा राज्य अफैं अभिभावक बनेर व्यवसायीको हितमा लाग्नु पर्नेमा व्यवसायी राज्य विहीनताको अवस्थामा पुग्नु आफैंमा दुःखद् पक्ष हो ।’

udhog

 नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष टिकाराज ढकालले आठ प्रतिशतमा लिएको कर्जाको व्याज बढेर १६ प्रतिशतसम्म पुग्दा पनि सरकार मौन बस्नु आफैंमा गैरजिम्वेवारीपन भएको आरोप लगाए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले बैंक तथा बित्तीय क्षेत्रले व्याजदर बढाएर व्यवसायीको ढाड सेक्ने काम गरेको बताए । उनले भने ‘व्यापार व्यवसाय घटेर ४० प्रतिशतमा आएको छ तर व्याजदर भने दिनानुदिन बढिरहेको छ,  यो भन्दा ठूलो विडम्वना व्यवसायीका लागि के हुन सक्छ ।’

 अधिकांश सहभागीले आर्थिक मन्दीले व्यवसायमा ठूलो असर परेको र नयाँ नेतृत्वले व्यवसायीका समस्या निराकणका लागि पहल गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल अलैंची व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, धनकुट्टा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, कोशी प्रदेश सदस्य कुमार भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

  • महासंघको कोशी प्रदेश अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित 

adax

  • महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन् । बिर्तामोडमा बिहीवार (आज) भएको महासंघको पाँचौ प्रदेशसभाबाट अध्यक्षमा राउत निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा जिल्ला/ नगर उद्योग वाणिज्य संघतर्फ भिमबहादुर पौडेल, उपाध्यक्षमा एशोसिएट्स/ वस्तुगत संघतर्फ कुमारमणी पोखरेल, कोषाध्यक्ष जिल्ला /नगर उद्योग वाणिज्य संघ /वस्तुगत संघ सुवास आचार्य चयन भएका छन् ।
  • त्यस्तै कार्यसमिति सदस्यहरुमा जिल्ला/नगर उद्योग वाणिज्य संघतर्फ ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार साह, प्रितम खड्गी, प्रकाश सशवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा वस्तुगत संघतर्फ राजन श्रेष्ठ, दिपक पाण्डे, त्यस्तै कार्यसमिति सदस्यहरुमा एशोसिएट्सतर्फ रविनकुमार दाहाल,भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल चयन भएको जनाइएको छ ।