झापा । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारीबाट प्रतिबन्धित लागू औषध र नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड ४ मेघाबारीका २४ बर्षिय सुवास ताजपुरीया र उनकै भाई १९ बर्षिय प्रविण ताजपुरीया रहेका छन् । 

बिर्तामोड ४ मेघाबारीको ताजपुरीयाको घर कोठा भित्र लागुऔषध भएको गोप्य सुचनाको आधारमा प्रहरी चौकी विर्ताबजारको प्रहरी टोलीले सुवासको घर कोठा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध र नक्कली नेपाली नोटहरु बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

उनीहरुको घरबाट प्रतिवन्धित लागूऔषध खैरो हिरोइन जस्तो देखिने लिसाईलो पदार्थ ४ ग्राम ३९० मिलीग्राम, नक्कली नेपाली नोट एक हजारको काटेको ६० थान, नक्कली नेपाली नोटहरु एक हजारको नकाटेको २८ थान, नक्कली नेपाली नोटहरु पाँच सयको काटेको २ थान, नक्कली अष्ट्रेलियन नोट एक सयको ३ थान, मोवाईल फोन ४ थान, प्रतिबन्धित लागुऔषध NITRAZEPAM Tablet IP २८ ट्यावलेट, मे.५ प.९७९७ नम्बरको मोटरसाइकल, सक्कली नेपाली नोट तीन हजार रुपैयाँ, अन्य देशहरुको नोट ११ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ । 

लागू औषध र नक्कली नोटसहित बुधवार नियन्त्रण गरिएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।