- प्रकाश उप्रेती
बिर्तामोड ।
झापाका विभिन्न ठाउँमा चोरीका घटना वृद्धि भइरहँदा प्रहरीको अनुसन्धान फितलो भएको बुझिएको छ । मोबाइल, ल्यापटप, कम्प्युटर, साइकल, मोटरसाइकल चोरीका घटना बढेसँगै प्रहरीको फितलो अनुसन्धानका कारण नागरिकको निवेदनको सुनुवाई हुन सकेको छैन ।
झापाको काकरभिट्टा, धुलाबारी, धाइजन, चारआली, बिर्तामोड सुरुङा, दमकलगायतका घर–अफिसमा राखिएको र बजारमा पार्किङ गरेकै ठाँउबाट चोरी हुँदैआएको छ । सामाग्रीका धनी नागरिकले प्रहरीलाई लिखित र मौखिक रुपमा जानकारी गराए पनि नागरिकले प्रहरीको परिणाम हात पार्न सकेका छैनन् ।
केहि महिना अघि मेचीनगर–१४ प्रगति टोलबाट हेमकुमारी र उनका श्रीमानको घरबाट २ वटा सामसुङ मोबाइल, कृष्ण थापाको दोस्रो तलाबाट आइफोन चोरी भएको थियो । उनीहरुले प्रहरी कहाँ पुगेर निवेदन गरे । त्यस्तै मेचीनगर–१४ मा रहेको बिहानी बचत तथा ऋण सहकारी सस्थाका कर्मचारीको मोटरसाइकल सस्थाकै पार्किङ स्थालबाट चोरी भयो । तत्काल प्रहरीलाई निवेदन गरे । बिर्तामोडमा मोहनकृष्ण ट्रेडर्सका प्रोपाइटर दिपक मैनालीको चोकबाट पल्सर मोटरसाइकल हरायो ।
प्रहरीलाई सोहीबेला निवेदन दिए । तर, हालसम्म ती सामाग्री र मोटरसाइकल पीडितले हात पार्न सकेका छैनन् । उनीहरु हराएको सामाग्री र मोटरसाइकल फेला पार्ने भन्दापनि आफु र आफुले चलाएका साधन–सम्पतिको सुरक्षाको प्रश्न गर्दैआएका छ्न् । नागरिकको ज्यान र उनले आर्जेको सम्पतिको सुरक्षा गर्ने निकाय र निकायको अनुसन्धान नै कमजोर भएको पीडितको तर्क छ ।
फागुन २९ गते सोमबार बिर्ताबजारबाट देबि कडरियाको मे.४ प ३३८३ कालो सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भएको छ । शिक्षक कडरियाले बिद्यालयबाट घर पुगेर तरकारी लिन बिर्ताबजारको उत्तरपट्टीको प्लटिङ छेउमा पार्किङ गरेका थिए ।
तरकारी किनमेलपछि बाइक पार्किङ गरेको ठाउँमा पुग्दा आफ्नो मोटरसाइकल नपाएपछि हारगुहार गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा मोटरसाइकल हराएको निवेदन दिएका छ्न् । साँझ ५ बजेको घटना भएपनि यो समाचार तयार पार्दासम्म प्रहरी अनुसन्धानमै रहेको भनाई प्रहरी कार्यालयको छ । हालसम्म फेला पार्न सकिएको छैन, प्रहरीले पनि कुनै फेला पारेको खवर नगरेको गुनासो पीडित कडरियाको छ ।