बिर्तामोड । 

झापाको बिर्तामोडमा जबरजस्ती बन्द गराउँदै हिड्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले आइतवार (आज) बिहान माइक्रोको चावी खोस्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

उनले झापामा बन्दको प्रभाव खासै नरहेको बताउँदै अन्य दिनको भन्दा सवारी साधन सडकमा कम देखिएको बताए । सरकारी कार्यालयहरु पूर्ण रुपमा खुल्ने र केही प्राइवेट शैक्षिक संस्थाहरु मात्र बन्द रहेको डिएसपी रिजालले बताए । बन्दको प्रभाव सामान्य मात्र रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कोशी प्रदेश खारेजीको माग गर्दै छ वटा राजनीतिक दल र ३३ वटा जातीय संघ÷संगठनले आज कोशी प्रदेश बन्द गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसँगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु विरोधमा उत्रिएका हुन् । 

छ वटा राजनीतिक दल र ३३ वटा जातीय संगठनले हिजो शनिवार साँझ झापाको बिर्तामोडमा कोशी प्रदेश खारेजीको माग गर्दै राँके जुलुस प्रर्दशन गर्दै आन्दोलको घोषणा गरेका थिए । फागुन २८ गते आज बन्दको घोषणा गरेका दलले चैत ५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा जनप्रर्दशन गर्ने घोषणा समेत गरेका हुन् । 

कोशी प्रदेशको नाम कौशिक वाहुनको नाममा रहेको कोशी नदीवाट भएकाले त्यसलाई खारेज गर्दै ऐतिहासिक पहिचानको आधारमा प्रदेश १ को नाम पुन नामाङ्कन गरिनु पर्ने माग अघि सारेका छन् ।