विराटनगर ।

 जमरकटेल वंश एकता प्रतिष्ठानले विराटनगर–१९ स्थित बैजनाथपुरमा सामुदायिक भवन निर्माण गर्ने भएको छ । जमरकटेल बन्धुहरुले करिब दुई करोड रुपैयाँको लागतमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्ने भएका हुन् ।

बैजनाथपुरस्थित प्रतिष्ठान क्षेत्रमा बन्ने सामुदायिक भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन् । सामुदायिक भवन निर्माणका लागि महानगरले पनि पाँच लाख रकम प्रदान गरेको छ । भवन शिलान्यास क्रममा मेयर कोइरालाले आगामी आर्थिक बर्षमा महानगरले थप आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा जमरकटेल वंश एकता प्रतिष्ठानका अध्यक्ष कुमारमणी जम्मरकटेल, उपाध्यक्ष कृष्णप्रसाद जमरकटेल, थिरप्रसाद जमरकटेल र महासचिव उदयप्रसाद जमरकटेलले बन्धुहरु एकतावद्ध भएर सामुदायिक भवन निर्माणमा जुटेको भन्दै यसका लागि सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

जमरकटेल बंश एकता प्रतिष्ठानका सल्लाहकार एवं व्यवसायी राजु जमरकटेलले प्रतिष्ठानका लागि केही बर्षअघि बैजनाथपुरमा दुई कठ्ठा जग्गा प्रदान गरेका थिए । सोही जग्गामा सामुदायिक भवन बनाउँन लागिएको जमरकटेल बंश एकता प्रतिष्ठानका सचिव रविन कटेलले जानकारी दिए । 

कोशी प्रदेशमा मात्र करिब २० हजारको संख्यामा जमरकटेलहरु रहेको जनाइएको छ । महानगर लगायत सरकारी निकायहरुबाट थप सहयोग माग गर्ने र जमरकटेल बन्धुहरुबाट सहयोग संकलन गरेर सामुदायिक भवन निर्माण गरिने प्रतिष्ठानका अध्यक्ष कुमारमणी जमरकटेलले जानकारी दिए ।