मेचीनगर ।

मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र  शारीरिक रूपमा असक्त रहेका नागरिकलाई सहजताका लागि ह्वील चियर वितरण कार्यको शुरु गरिएको छ ।   नगरपालिकाले शुक्रबार(आज) एक कार्यक्रमका बिच नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र  उप–प्रमुख मीना पोखरेल उप्रेतीले संयुक्त रूपमा नगरका १५ जना शारीरिक रूपमा असक्त नागरिकलाई ह्वील चियर वितरण गरेर मेचीनगरलाई ह्वील चियर मुक्त नगर बनाउने अभियानको शुभारम्भ गरेका हुन् । 

शारीरिक रूपमा अति असक्त भएका नागरिकको दैनिकीमा सहजता पुर्याउन नगरपालिकाले पहिलो चरणमा करिब १५ हजार मूल्य प्रति थान पर्ने एक सय थान ह्वील चियर वितरण गरिने मेचीनगर महिला बालबालिका शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् ।कार्यक्रममा नगर प्रमुख बुढाथोकी र उपप्रमुख पोखरेलले मेचीनगरले ह्वील चियर मुक्त नगर बनाउन विगतदेखि नै ह्वील चियर वितरण गर्दै आएको बताउँदै यसलाई थप प्रभावकारी बनाउन पुनः आजदेखि ह्वील चियर नपाएकाहरूलाई वितरणको अभियान सञ्चालन गरिएको जनाए ।

ह्वील चियर वितरण कार्यक्रममा नगर प्रमुख उपप्रमुखसहित नगरपालिकाका बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, लेखा अधिकृत राजन भेटवाल, स्वास्थ्य शाखा प्रमुख सावित्रा सापकोटागायतका कर्मचारी, जनप्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो ।