झापा ।
तराई–मधेश क्षेत्रमा आज (मंगलबार) होली पर्व मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने गरिन्छ ।
पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि फागु पर्व सम्पन्न हुने गर्छ । तरार्ई मधेशमा भने पूर्णिामाको राति होलिका दहन गरेपछि भोलिपल्ट होली मनाइन्छ ।
पुराणका अनुसार भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता रहि आएको पाइन्छ ।
आज तराईमा रंग अबिर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाइदै छ । होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा मंगलबार सार्वजनिक बिदा दिएको छ ।