बह्दशी ।

झापाको बाह्दशी गाउँपालिकाका एक युवाको आर्थिक अभावमा उपचारमा समस्या भएको छ । बाहदशी–६ स्थित काक्रामारीका ३० बर्षिय जयनारायण ढकालको उपचारमा समस्या भएको हो । ढकाल ब्लड क्यान्सर रोगबाट पिडीत रहेपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको परिवारले जनाएको छ ।

ढकाल बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा २ महिनादेखि उपचारत छन् । उनको उपचारमा अहिलेसम्म ५ लाख रुपैयाँ खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

३ बर्ष अघि बैदेशिक रोजगारीको सिलसिलामामा साउदी गएका उनी विरामी भएपछि नेपाल फर्किएका थिए । साउदीबाट बिरामी भएर आएका  ढकालले काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा परिक्षण गरेका थिए । त्यस क्रममा उनलाई ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । उनले त्यस अस्पतालमा पनि ४ लाख रुपैयाँ खर्च गरेको उनकी श्रीमती जमुना भट्टराई ढकालले जानकारी दिइन् ।

upcharma samasya

ढकालको उपचारमा अहिले आर्थिक अभाव भएपछि समस्या भएको श्रीमती ढकालले बताइन् । ‘चिकित्सकले बीएण्डसीमा उपचार सम्भव नहुने भन्दै भारतको दिल्ली लान सुझाब दिएका छन्’ श्रीमती ढकालले भनिन् ‘उपचार गर्न २५ लाख रुपैयाँ लाग्ने भएका कारण आफुहरु समस्यामा छौं ।’

बिरामी ढकालका ७० बर्षिय बुबा चन्द्रलाल ढकाल घर नजिकै रहेको इटाभट्टामा मजदुरी गर्दै आएका छन् । सम्पत्तीका नाममा ढकालको ३ कठ्ठा जग्गा मात्र रहेको छ । पाँच जना दिदीबहिनीका एक मात्र भाई ढकाल बिरामी भएपछि परिवारलाई दैनिक घरखर्च टार्न समस्या भएको छ । कमाउने छोरो बिरामी भएपछि ६६ बर्षिया आमा देबीमाया ढकाल छोरोलाई बचाइदिन सवैसँग हारगुहार गरिरहेकी छिन् । बिरामी ढकालको अढाई बर्षिय एक छोरा छन् ।

क्यान्सरबाट थलिएका ढकालको अवस्था बारे जानकारी पाएपछि झापाको बिर्तामोड–४ मा रहेको गंगामाया नरबहादुर बस्नेत, क्यान्सर पीडित सहयोग संस्थाले आर्थिक सहयोगका लागि अभियान सञ्चालन गर्ने भएको छ । संस्थाका अध्यक्ष भूपाल बस्नेतले आज (सोमबार) बिरामी ढकालको घरमै पत्रकार सम्मेलन गरी आर्थिक अभावका कारण अकालमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर अभियान सञ्चालन गर्ने जनाएका हुन् । उनले ढकालको उपचारका लागि सवैसँग सहयोगको अपिल गर्दै आफ्नो संस्थाले पनि सहयोग जुटाउन अभियान चलाउने बताए ।

त्यसैगरी बाहदशी–६ का वडाध्यक्ष रत्नप्रकाश योङहाङले पनि ढकालको उपचारकामा सहयोग गरिदिन सबैलाई आग्रह गर्दै स्थानीय तहको तर्फबाट नियमानुसार  सहयोग गर्ने आश्वासन दिएका छन् । उनले सरकारले उपलब्ध गराउँदै आएको विपन्न नागरिक उपचारका लागि एक लाख रुपैयाँ निकासाका लागि वडाबाट सिफारिस गरिएको बताए ।

ढकालको उपचारमा सहयोग गर्न इच्छुक ब्यक्ति तथा संघ÷संस्थाहरुले सिदार्थ बैंक बिर्तामोड शाखामा रहेको बिरामीकी दिदि कमला कट्टेलको खाता नं. ०२२१५०६६६२७ मा रकम जम्मा गर्न सक्ने जनाइएको छ ।