बिराटनगर।
१ नम्बर प्रदेशका सुनसरी, उदयपुर र धनकुटा जिल्लाका तीन छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा नियन्त्रीत लागू औषध गाँजासहित तीन् जनालाई प्रहरी पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका–१ कालिखोला एरियामा लागू औषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ सिराहाका २२ बर्षीय ललित सिंहलाई गाँजासहित पक्राउ गरेको हो ।
प्रदेश २–०१–००१ प १५२६ नम्बरको स्कुटरमा सवार रहेका सिंहलाई रोकेर चेकजाँच गर्ने क्रममाउनको साथबाट प्रहरी २२ केजी लागू औषध गाँजा बरामद गरेको हो ।
त्यसैगरी वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१३ बाट साँढे ४१ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाको ओसार भईरहेको भन्ने सूचना पाएसंगै तत्काल प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १३ च २६८ नम्बरक कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कार भित्र लुकाई छिपाई राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । कारबाट गाँजा बरामद भएसँगै कार चालक धरान–१६ का ४० बर्षीय सुकेन्द्र लिम्बु र कारमा सवार रहेका पाख्रिवास ९ धनकुटा घर भई धरान १७ बस्दै आएका २८ बर्षीय नविन राईलाई समेत पक्राउ गरेको हो । गाँजासहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यसैगरी धनकुटाको साँगुरी गढी गाँउपालिका–८ बाट १०६ केजी गाँजा बरामद भएको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ ज १८११ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १०६ केजी गाँजा बरामद भएको थियो । उक्त पिकअपमा चालक नभएको हुँदा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।