झापा । 

झापाको मेचीनगर र भद्रपुर नगरपालिकाबाट प्रतिबन्धित लागू औषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं.९ का २८ बर्षिय मोहन शेर्पा र विर्तामोड नगरपालिका वडा नं.१  का २१ बर्षिय विशाल धिमाल रहेका छन् । 

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ मा  भारतबाट नेपालतर्फ आउदै गरेका धिमाललाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम फेला परेपछि नियन्त्रणमा लिएको थियो । 

त्यस्तै वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ स्थित  नयाँबजारमा शेर्पालाई शंका लागेर चेकजाँच गर्दा उनकोे साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ३ ग्राम ६० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका शेर्पालाई जिल्ला प्रहरी कार्यालय झापामा र धिमाललाई  ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।