अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिकाले खायन आलु उत्पादन कार्यक्रम अन्तर्गत नगर क्षेत्रका १२ कृषक समूहलाई ६ लाख ४५ हजार रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरेको छ । नगरले संघीय सरकारको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० प्रतिशत लागत साझेदारीमा आलु र मकै खेतीका लागि उपयोग हुने २२ वटा मेसिन र २६ वटा स्प्रे मेसिन वितरण गरेको हो ।
नगर आर्थिक विकास समितिको संयोजन तथा कृषि शाखाको आयोजनामा भएको कार्यक्रममा कृषि कर्मलाई सहज बनाउनका लागि ५ लाख २८ हजार मूल्य बराबरको आलु गोड्ने मेसिन र १ लाख १७ हजार मूल्य बराबरको स्प्रे मेसिन वितरण गरेको शाखा प्रमुख एञ्जिला बेडारीले जानकारी दिइन् । उनका अनुसार बजारमा आलु गोड्ने मेसिनको मूल्य २४ हजार र स्प्रे मेसिनको मूल्य ४ हजार ५ सय पर्छ ।
उक्त कृषि सामग्रीहरुको वितरण नगर प्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले गरेकी थिइन् । कार्यक्रममा नगर प्रमुख गोम्देनले अर्जुनधारा कृषिमा आश्रित नगर भएको बताउँदै नगरका कृषकहरुको हितमा सधैव सक्रिय रहने बताए । उनले कृषिमा विचौलियाको विगविगी पनि त्यतिकै हुने हुँदा कृषकहरुलाई त्यसबाट जोगाउन नगरले हरसम्भव प्रयास गर्ने जानकारी दिए ।
नगरका प्रगति कृषि समूह, ज्योति कृषि समूह, प्रधान कृषि फर्म, परिश्रमि कृषि समूह, विशाल कृषि सहकारी, जलकन्या कृषि समूह, हात्तीकिल्ला कृषक समूह, सालबारी कृषक समूह, स्वागत कृषक समूह र लक्ष्मीधाप कृषक समूहले उक्त कृषि सामग्री बुझेर लगिसकेको शाखाकी मीना अधिकारीले जानकारी दिइन् । अन्यलाई भने शाखाले समन्वय गरेर वितरण गर्ने जनाइएको छ ।
नगर प्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक विकास समितिका गौरीमाया चिमरिया, लेखा अधिकृत विपिन लम्साल, राजश्व शाखा प्रमुख डेनजनी आचार्य वडा नं. ६ सदस्य टुम्मनाथ काफ्ले लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख बेडारीले गरेकी थिइन् ।