सुरुङ्गा । 

मैनाली समाज झापाले सप्त अहोरात्रीय युगल नारायण महायज्ञ गर्ने भएको छ । पितृमोक्षका लागि फागुन २९ गतेदेखि चैत ६ गतेसम्म मैनाली समाज झापाले महापुराण आयोजना गर्न लागेको हो । झापाको कनकाई नगरपालिकास्थित मैनाली समाज झापाको सभाहल बुधवार (आज) पत्रकार सम्मेलन गरी महायज्ञबारे जानकारी दिएको हो । सम्पूर्ण पृतिहरुको उद्धार तथा मुक्तिका लागि आयोजना हुने महायज्ञ कालीकादेवी मन्दिर कनकाई–१ जामुनबारीमा हुनेछ ।

समाजका केन्द्रीय उपाध्यक्ष तथा महापुराण आयोजक समितिका अध्यक्ष मीनप्रकाश मैनालीले झापामा पहिलो पटक सप्त अहोरात्रीय युगल नारायण महायज्ञ गर्न लागिएको जानकारी दिएका छन् । उनले पुराण आयोजना गर्न करिब २० लाख रुपैयाँ लाग्ने बताउँदै पुराणमा आर्थिक संकलन नर्गो र स्वेच्छिक गोप्य दान मात्र लिने बताएका छन् ।

mainaliii

पशुपति जानकी जीवनदेव कुञ्ज वेदपतनका अजितबाबु गौतमको प्रमुख वाचकत्वमा हुने महापुराणमा २४ जना साधकहरुले पूजापाठ गर्ने मैनाली समाजका केन्द्रीय सदस्य केदारनाथ मैनालीले बताए । २०४१ सालदेखि शुरु भएको नारायण महायंज्ञ १ हजार ९ सय ७५ स्थानमा सम्पन्न भइसकेको र झापामा पहिलो पटक हुन लागेको यो महायज्ञ १ हजार ९ सय ७६ औं रहेको उनले बताए ।

महापुराणका लागि २०१ सदस्यीय मूल आयोजक समिति र १० वटा विभिन्न उप–समिति गठन गरिएको छ । मूल आयोजक समितिको संयोजकमा मैनाली समाजका केन्द्रीय उपाध्यक्ष मीनप्रकाश मैनाली रहेका छन् । मुल आयोजक समितिको सह–संयोजकमा रामप्रसाद मैनाली, डिल्लीराम मैनाली, लीला मैनाली, श्रीप्रसाद मैनाली, मेनुका मैनाली र अम्बिका मैनाली रहेका छन् । त्यस्तै सचिवमा रामप्रसाद मैनाली, सह–सचिवमा रेणुका मैनाली, कृष्णकुमार मैनाली र कोषाध्यक्षमा अनुषा मैनाली रहेको पत्रकार भेटघाटका क्रममा बताइएको थियो । 

महापुराणमा मैनाली समाजले आयोजना गरे पनि सबैका लागि खुला रहेको आयोजकले जनाएको छ । सम्पूर्ण अतृप्त प्राणीहरुको आत्मा तृप्तीका लागि महायज्ञ गर्न लागिएको मैनाली समाजका केन्द्रीय सचिव डील्लीराम मैनालीले जानकारी दिए ।