बिर्तामोड ।
बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको समय तीन दिन थप गर्ने निर्णय गरेको छ ।पूर्वघोषित समय अनुसार सोमवार (आज) महोत्सव समापन हुने थियो । तर, अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेकाले फागुन १८ गतेसम्म महोत्सव सञ्चालन गर्ने निर्णय भएको आयोजक समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेकाले फागुन १८ गतेसम्म महोत्सव सञ्चालन गर्ने निर्णय भएको आयोजक समिति संयोजक राजु न्यौपानेले बताए । उनका अनुसार महोत्सवको थप समयअवधिका लागि सुरुक्षा ब्यवस्थाका लागि प्रशासन कार्यालयमा जानकारी गराइसकिएको छ ।
संघका अध्यक्ष प्रकाश शिवाकोटीका अनुसार थपिएको यो समयमा टिकट शुल्क दुई सय रुपैयाँ निर्धारण गरिएको छ । अब कलाकार रचना रिमाल, जीबब, दीपक बज्राचार्य र प्रमोद खरेलको ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुति राख्ने जनाइएको छ । बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक समितिका सचिव कुशल खतिवडा, संघका कृष्ण पौडेल, राधिका चुडाललगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुन मैनालीले गरेका थिए ।