बिर्तामोड । 

स्थापना कालदेखि नै विविध सामाजिक कार्यमा संलग्न रहदै आएको दारी ग्याङले फागु पुर्णिमा (होली) को अवसर पारेर ‘होली टि–सर्ट’ सार्वजनिक गरेको छ । विगत ५ बर्षदेखि फागु पुर्णिमाको अवसरमा टि–सर्ट उत्पादन गरेर बिक्री तथा वितरण गर्दै आएको दारी ग्याङले यस बर्ष पनि निरन्तरता दिएको हो । 

फागुन २२ गते पहाड र २३ गते तराईमा हुने होली पर्वलाई लक्षित गरेर दारी ग्याङले उत्पादन गरेको होली टि–सर्ट सार्वजनिक गरिसकेको ग्याङका झापा अध्यक्ष गोकुल पौडेललाई उध्रित गर्दै प्रतिनिधि सन्दिप प्रसाईले जानकारी दिए । 

प्रतिगोटा तीन सय रुपैयाँ रहेको होली टि–सर्ट झापामा उत्पादन गरेर देशैभर रहेको दारी ग्याङको सञ्जाल मार्फत बिक्री तथा वितरण गरिने जनाइएको छ । ‘सामाजिक सेवाका निम्ति दारी ग्याङको होली टि–सर्ट’ भन्ने मुल नाराका साथ होली टि–सर्ट बिक्री गरी त्यसबाट आएको नाफा बर्षभरी दारी ग्याङ झापामार्फत सामाजिक कार्यमा खर्च गरिने अध्यक्ष पौडेलले बताएका छन् । 

टि–सर्ट खरिद गरि दारी ग्याङ झापाको सामाजिक सेवाको अभियानमा हातेमालो गर्न समेत ग्याङले सवैमा आग्रह गरेको छ । देशैभरी सञ्जाल रहेको दारी ग्याङले धुर्मुस सुन्तली फाउण्डेशनसँगको सहकार्यमा बिभिन्न सामाजिक कार्य गर्दै आएको जनाइएको छ । त्यस्तै दारी ग्याङले राहत वितरण, बचाउ अभियान, रक्तदान, लागूऔषध सम्बन्धि जनचेतना मुलकलगायतका थुप्रै सामाजिक कार्य गर्दै आइरहेको छ ।