बिर्तामोड ।

गत फागुन ५ गतेबाट बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ मा  सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ । 

महोत्सवमा सहभागी मध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव अवलोकनका लागि आउनु भएकी बिर्तामोड ५ निवासी अजिशा लिम्बूले घरेलु मदिरा (लोकल वाइन र रक्सी ) तथा हस्तकलाका सामग्री बढी मन परेको बताइन् । 

महोत्सवस्थलमा पहिलो पटक पुगेकी अजिशालेभनिन ‘थारु समुदायको मौलिक खानाका परिकार, विभिन्न जात जातिका सांस्कृतिक कार्यक्रम महोत्सवको आकर्षण लाग्यो । यसले हाम्रो संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन दुवै हुनेमा म विश्वस्त छु । अझ महिला दिदी बहिनीहरुले आफ्नै हातले सेल रोटी बनाएर बिक्री गरेको देख्दा र खाँदा बेग्लै आनन्द लाग्यो ।’ 

एक रुपैयाँको चिया खाएर एक सय ८० रुपैयाँको चियाको प्याकेट खरिद गर्नु भएकी बिर्तामोड ५ निवासी गंगा लुईटेल चियाको प्रशंसक नै बनेका छ । मलाई घरमा आवश्यक पर्ने चिया आफन्तबाटै आउँछ तर प्रोत्साहनका लागि भएपनि  यहाँ विक्रीका लागि राखिएको दुई प्याकेट चिया खरिद गरेकी छु लुईटेलले भनिन् ‘हाम्रो ठाउँमा महोत्सव लागेको छ हामीले प्रोत्साहन गर्नु पर्छ ।’ महोत्सव शुरु भएपछि नै जुम्लाको स्याउ खरिद गरेको उनले आफू जुम्लाको स्याउको फ्यान भएको बताइन् । ‘जुम्लाको स्याउ असाध्यै मिठो रहेछ उनले बताइन् । ‘फुजीको स्थाउ भन्दा ५० रुपैयाँ महंगो पर्ला जुम्लाकै स्याउ खानु राम्रो । स्वदेशी उत्पादनलाई नै हामीले प्रोत्साहन गर्नु पर्छ । म त यही स्याउ अबदेखि खोजीखोजी खान्छु’ लुँइटेलले भनिन् । 

महोत्सवमा सहभागी मध्ये बुद्धशान्ति गाउँपालिका निवासी खगेन्द्र मैनालीले व्यवसायमा महोत्सवले आशा र उर्जा दुवै थपेको भनाई छ । महोत्सवमा ब्यापार कति भयो भनेर हिसाव गर्ने भन्दा पनि हामीसँग पछिसम्म हुने गरी कति सेवाग्राही जोडिए भन्ने कुरा महत्वपूर्ण हुन्छ’  ‘सेवाग्राही जोडिनु व्यवसायीका लागि ठूलो सम्पत्ति हो । यहाँ पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्मका व्यापारी व्यवसायी उपभोक्तासंग जोडिएका छन् । यो आफैमा खुशीको कुरा हो ।’ 

महोत्सवमा सहभागी मध्ये उनीहरु प्रतिनिधि मात्र हुन् । उनीहरु जस्ता धेरैले महोत्सवको प्रशंसा गरेका छन् । महोत्सवमा बालवालिकादेखि वृद्धवृद्धा समेतको उल्लेख्य सहभागीता रहेने गरेको छ ।