बिराटनगर ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको नव निर्मित कार्यालय भवनको उद्घाटन भएको छ । बिहीवार (आज) एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले शिलालेख अनावरण गरी बिधिवत रुपमा कार्यालयको उद्घाटन गरेका हुन् । भवनको निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मुख्य मन्त्री कार्कीले भौतिक पुर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताए ।
कार्यक्रममा प्रहरी संगठन प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसंगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने धारणा ब्यक्त गरे ।
कार्यक्रममा स्वागत प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्य मन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पुर्याउने र निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसा पत्रले सम्मान गरेका थिए । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
१ नं. प्रदेश आन्तारिक मामिला तथा कानुन मन्त्रालयबाट वजेट विनियोजित भएर कुल १९ करोड १४ लाख ०१ हजार ६६३ रुपैयाँको लागतमा साना ठुला गरी ७५ वटा कोठा भएको ५ तले कार्यालय भवन निर्माण सम्पन्न भएको हो । कार्यक्रममा उच्च अदालत बिराटनगरका माननीय मुख्य न्यायाधिश सत्य मोहन जोशी थारु, प्रदेश सरकारका मन्त्रीहरु, निमित्त प्रदेश प्रमुख सचिव किशोरकुमार चौधरी, स्थानीय जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न सरकारी कार्यालय तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, पुर्व प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।