सुरुङ्गा ।
बिर्तामोड । कनकाई नगरपालिका–४ का शिवशनी परोपकार संस्थाका युवाले १५ लाखको लागतमा गाउँमै शिवालय मन्दिर निर्माण गरि शिवरात्रीको अवसर पारेर मन्दिर उद्घाटन र शिव मुर्तिलाई प्राण प्रतिष्ठा गरेका छन् ।
युवा समुदायले स्थानीय कनकाई माविको ५ कठ्ठा जमिनलाई घेराबारा गरि सुन्दर मन्दिर र फुलवारी निर्माण गरेका हुन् । निर्माण गरिएको मन्दिरलाई झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बु, पूर्व प्रदेशका कृषि मन्त्री हिराकुमार थापा, सताक्षीधाम गौशालाका नन्दकिशोर भारद्धाज, कनकाई नगरपालिका ४ का वडाअध्यक्ष रोषन सुवेदी, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली लगायातले मन्दिरको उद्घाटन गरेका छन् । मन्दिरको उद्घाटन गर्नुअघि युवाद्धारा मन्दिरमा मुर्तिको ३ दिनसम्म पुजाआजाका साथ प्राण प्रतिष्ठा समेत गरिएको थियो ।
पछिल्लो समय युवा समुदाय धर्मसस्कृति भन्दा पनि विकृति र कुलतमा फसिरहेको कारण आफुहरुले गाउँमा युवालाई सत्कर्ममा लगाउनका लागि गाउँमै मन्दिर निर्माण र धर्म सस्कृतिको जर्गेनामा लागि परेको शिवसनी परोपरकार संस्थाका अध्यक्ष तुलाराज विश्वकर्माले बताए ।
युवालाई रङ्गशालाका माध्यमबाट खेल र मन्दिरका माध्यमबाट आध्यात्मिक विचारसग जोडने र देशकै नमुना क्षेत्र आफुहरले बनाउन चाहेको विकले बताए । यस क्षेत्रका ५० वढी युवाहरु यस परोपकारी काममा जोडिएका छन । युवाकै पहलमा धार्मिक र खेलकुदका गतिविधिहरु गाउँमा संञ्चालन भइरहेको छ । युवा समुदायको पहलमा शिवपाञ्चायन मन्दिरको प्राण प्रतिष्ठाका लागि ३ दिने अनुष्ठान र कलश यात्रा समेत गरिएको थियो । सोही अवसरमा मन्दिर निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
केहिबर्ष पहिलेसम्म कनकाई ४ को इलुवारी क्षेत्रलाई अर्कै हिसाबले हेर्ने गरिएको थियो तर, सो क्षेत्रका युवा तुलाराज बिक लगायातका युवा समुहले उक्त क्षेत्रमा खेल मैदान र शिवालय मन्दिर लगायातका सामाजिक विकास निर्माण गरेसँगै त्यस क्षेत्रको मुहारै फेरिएको छ ।