बिर्तामोड ।
फागुन ५ गतेबाट शुरु भएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ ।महोत्सवमा विभिन्न प्रकारका आर्थिक कारोबारले समेत तीव्रता पाएको जनाइएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने अन्तर्राष्ट्रिय महोत्सवमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ तथा मोरङ र सुनसरीका अवलोकनकर्ताहरुको संख्या बढेको जनाइएको छ ।
महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सहुलियत योजना समेत ल्याइएको छ । महोत्सवमा एक रुपैयाँमा चिया पिउन पाइन्छ भने जुम्लाको मार्सी चामलदेखि दलनका सामानहरु समेत सुपथ मूल्यमा पाइने गरेको छ । जुम्लाको सिज्जाबाट महोत्सवमा सहभागी बनेकी गोमा बुढाले सञ्चालन गरेको देउती अग्र्यानिक स्टलमा ग्राहकको भिड लाग्ने गरेको छ ।
पश्चिम नेपालको जुम्लामा उत्पादन भएका खाद्यवस्तुको स्टलमा जौको चामल, मकैको चामल, फापरको चामल, भुटेको र काँचो मकै, मार्सी चामल, कालो जुम्लेली चामल, रातो दाल, कालो दाल मात्र नभई कोदोको पिठो, फापरको पिठो पाइन्छ भने दालमा हाल्ने जुम्लेली जिम्मो पाइने बुढाले बताइन् ।
महोत्सवमा आउने अवलोकनकर्ताले अधिकतम् तीन सय ५० रुपैयाँमा आफ्ना सामानहरु किन्न सक्ने उनको भनाइ छ । काठमाडौंमा प्याकेजिङ गरेर ल्याइएका सामग्री अग्र्यानिक भएको र कतै मिसावट नभएको उनले बताइन् ।
११ दिनसम्म सञ्चालन हुने महोत्सवमा भारत, पाकिस्तान र बंगलादेशका व्यवसायीहरुको समेत सहभागिता रहेको छ । महोत्सवमा विभिन्न खाद्यवस्तु, मनोरञ्जनका साधनका साथै सवारीसाधनको समेत सुपथ मूल्यमा खरिद बिक्री भइरहेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
उनले एकै स्थानमा सबै प्रकारका वस्तु खरिद–बिक्रीका साथै जानकारी पाउने भएकाले सबैलाई एकपटक महोत्सवको अवलोकन गर्न अनुरोध समेत गरेका छन् । महोत्सवमा सुरक्षा व्यवस्था भरपुर बनाइएकाले ढुक्क भएर अवलोकन गर्न महोत्सव मूल आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आग्रह गरे । हरेक साँझ हुने सांगीतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागिता रहेकाले महोत्सवको अवलोकन गर्न सबैलाई अनुरोध समेत गरिएको छ ।
यसैबीच महोत्सवमा एक किलो थकाली चामल खरिद गरेमा ग्राहकलाई निशुल्क भोजनका साथै आकर्षक पुरस्कारका लागि लक्की–ड्र को समेत व्यवस्था गरेर महोत्सवलाई थप आकर्षक बनाइएको छ ।