मेचीनगर । 

झापाको मेचीनगर नगरपालिकामा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा जग्गा बर्गीकरणको सम्पूर्ण प्रकृया पुरा भएको जानकारी दिए । नगर प्रमुख बुढाथोकीले नगरका १५ वटै वडाको जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भईरहेकोले जतिसक्दो चाँडै काम टुङ्गिने बताएका छन् । 

सरकारले केहि महिना अघि जग्गाको वर्गीकरण अनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली जारी गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावलीमा जग्गालाई विभिन्न १० वटा समूहमा वर्गीकरण गरीएको छ ।

जसमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्व र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र छन् । यसैका आधारमा रहेर नगरका १५ वटा वडामा जग्गा वर्गीकरण गरिने नगर प्रमुख बुढाथोकीले बताए ।

नगर प्रमुख वुढाथोकीले अबको एक हप्ता भित्रमा जग्गा वर्गीकरणसहीतको मेचीनगरको नयाँ नक्सा जारी गरिने बताए ।