बिर्तामोड ।
झापाको बिर्तामोडमा आगामी फागुन ५ देखि १५ गतेसम्म आयोजना हुने ११ दिने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव आयोजक समितिले सोमवार (आज) बिर्तामोड पत्रकार सम्मेलन आयोजना गरी महोत्सव तयारीका बारेमा जानकारी दिएको हो । महोत्सवको मुख्य प्रायोजनको रुपमा एनसेल आक्जियटा लिमिटेड रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । त्यस्तै सेन्चुरी मसला, गोर्खा ब्रुअरी, सिग्नेचर लगायत अन्य प्रायोजक रहेको जानकारी बताइएको छ ।
उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने महोत्सवको बिर्तामोडस्थित रामचोक र चारपाने बिच महेन्द्र राजमार्ग उत्तर आयोजना हुनेछ ।पर्यटन प्रवर्धन गर्ने, स्वदेशी बस्तुहरुको पहिचान गराउने, ब्यवसायीक सम्भावना क्षेत्रहरुलाई पहिचान गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।
आर्थिक मन्दी र कोरोना संक्रमणबाट थलिएको ब्यवसायीक क्षेत्रलाई चलायमान बनाउँदै ब्यापारीहरुको मनोबल उच्च बनाउन महोत्सव आयोजना गरिएको न्यौपानेले बताए । उनका अनुसार दोस्रो र तेस्रो मुलुकसँगको निर्यात ब्यापारलाई बढावा दिने, आन्तरिक व्यापारलाई चलायमान गराउने, आन्तरिक पर्यटन प्रवर्धन गर्ने, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार गर्ने महोत्सवको उद्देश्य रहेको छ ।
महोत्सव स्थलमा विद्यार्थी, वृद्धवृद्धालाई निःशुल्क प्रवेश दिइनेछ । अन्यलाई भने १ सय रुपैयाँ प्रवेश शुल्क लिइनेछ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतीय उद्योगी ब्यवसायीहरुको समेत सहभागिता रहने महोत्सवका संयोजक न्यौपानेले जानकारी दिए । महोत्सवबाट हुने आम्दानीले संघ सञ्चालनमा सहयोग पुग्ने उनको भनाई छ ।
१६ हजार १ सय ५० वर्ग मिटर क्षेत्रफलमा आयोजना हुने महोत्सवमा २ सय ५० स्टलहरु रहने जनाइएको छ । अहिलेसम्म करिब १ सय ५० स्टल बुकिङ भइसकेको संयोजक न्यौपानेले जानकारी दिए ।
प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरि महोत्सव स्थललाई चार भागमा विभाजन गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । मूल प्रवेशद्वारमा मुक्तिचोकको आकृती राखिने, सेल्फी जोन निर्माण गरिने उनले बताए । महोत्सवमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामाग्री, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, जुत्ताचप्पल, हस्तकला तथा तयारी पोषाक आदि महोत्सवमा राखिने अध्यक्ष शिवाकोटीले जानकारी दिए । बिर्तामोड उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश १ सँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवका संयोजक राजु न्यौपानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, उद्योग वाणिज्य संघ बिर्तामोडका पूर्व अध्यक्ष राजेन्द्र थापा, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, संघका पूर्व अध्यक्ष राजेन्द्र थापा, संघका महासचिब तथा महोत्सवका अनुगमन समिति संयोजक अर्जुन मैनाली, प्रायोजक संस्थाका प्रतिनिधिहरुलगायत संघका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव कुशल खतिवडाले गरेका थिए ।
यसैबीच मोहोत्सव सञ्चालनमा सुरक्षा प्रवन्ध व्यवस्थित गर्ने सन्दर्भमा सोमवार साँझ सुरक्षा प्रमुखहरुसंग आयोजक समितिले अन्तरक्रिया गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी उपरीक्षक समेतको उपस्थितिमा भएको छलफलमा सुरक्षाको प्रत्याभूति र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
छलफलमा जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुरज कार्की, सशस्त्र प्रहरी वेश क्याम्प शनिश्चरेका प्रहरी नायव उपरीक्षक उदय न्यौपाने, जिल्ला ट्राफिक प्रहरी प्रमुख अशोक जवेगू सहित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।