अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकाले १२ औं नगरसभा सम्पन्न गरेको छ । नगरले आइतवार (आज) नगरको सभाहलमा नियमित १२ औं नगरसभा सम्पन्न गरेको हो । 

नगर प्रमुख बलदेबसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको नगर सभामा नगर उप–प्रमुख खड्गमाया पराजुलीले नगरमा भएका बिकास योजनाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । नगर उपप्रमुख पराजुलीले प्रस्तुत गरेको विकास योजना प्रतिवेदन अनुसार चालु आर्थिक बर्ष पुस मसान्तसम्ममा भौतिक पूर्वाधारतर्फ ५ सय ९० योजना मध्ये १ सय ५० योजना सम्पन्न भएका छन् । त्यस्तै अन्य योजनाहरु कार्यन्वयनको चरणमा रहेका छन् । 

यसैबर्ष सम्पन्न हुनेगरी सिचाई, खानेपानी, तटबन्धन, आवास निर्माण कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटसमेत विनियोजन भई कार्यन्वयनको चरणमा रहेको नगर उपप्रमुख पराजुलीले नगरसभामा प्रस्तुत गरेको प्रतिवेदनमा छ । उनले उपभोक्ताको साझोदारीमा करिब ५ करोड रुपैयाँ बराबरको योजना स्वीकृत भई सञ्चालनको चरणमा रहेको बताइन् । नगरसभाका क्रममा अर्जुनधारा वडा नम्बर ६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोला र वडा नम्बर १० का वडाध्यक्ष भूपेन्द्र न्यौपानेले आ–आफ्ना वडाको बारेमा भनाई प्रस्तुत गरेका थिए । 

arjun

कार्यक्रममा नगरकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, नगरका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । सभा अध्यक्ष नगरप्रमुख बलदेबले आगामी फागुन ३ गते कार्यपालिकाको बैठक बस्ने जानकारी गराउँदै नगरसभा सम्पन्न भएको थियो ।