अर्जुनधारा ।
झापाको अर्जुनधारा–७ को धार्मिक तथा पर्यटकीय स्थल अर्जुनधारा जलेश्वर धाममा शिवरात्रीको अवसर पारेर ३९ औं अनुष्ठान आयोजना हुने भएको छ । आगामी फागुन १ गतेदेखि ६ गतेसम्म धाममा गुरु अग्नि सिग्देलको आचार्यात्वमा ११ जना पंण्डित र ३५ जना बटुकद्धारा प्राण प्रतिष्ठा र ‘एक साँझ शिवको माझ’ अन्तरगत भजन सन्ध्या हुने शनिवार (आज) पत्रकार भेटघाट गरी जानकारी दिइएको हो ।
पत्रकार भेटघाटका क्रममा बिर्तामोडका कमल र झुमा बस्नेतको लगानीमा धाम परिसरमा निर्माण सम्पन्न भएको माता पार्वती मन्दिर र १०८ शिवलिङ्गकोसमेत उद्घाटन गरिने अनुष्ठान आयोजक समितिले जनाएको छ ।
मन्दिरको प्राण प्रतिष्ठा तथा उद्घाटमा भारतको हिमाञ्चल प्रदेशबाट श्री आदीदेव बाबा बर्फानीजीको प्रमुख अतिथिको रुपमा आउने जनाइएको छ । फागनु १ गते उद्घाटका अवसरमा धामबाट कनकाईमाईमा गएर १०८ घडामा जल लिएर कलश यात्रा तथा मण्डलपूजा, २ गतेदेखि दैनिक प्राण प्रतिष्ठाका साथ रुद्राअभिषेक, सप्तशती पाठ, वेदपाठ हुने जनाइएको छ । त्यस्तै २ देखि ६ गतेसम्म गंगा आरती, दैनिक भजन किर्तन, महाराजजीको दर्शनभेट तथा आशिर्वाद प्रवचन, ६ गते मन्दिर उद्घाटन र दाता सम्मान, रात्री चारप्रहर पूजा तथा ख्याती प्राप्त कलाकारहरुबाट ‘एक साँझ शिवको माझ’ भजन सन्ध्या हुने पत्रकार भेटघाटका क्रममा बताइएको छ । सोही अवसरमा साहित्य चौतारीका मानार्थ सल्लाहकार जीजन अधिकारीसहितको टोलीले समेत प्रस्तुती रहने जनाइएको छ ।
अनुष्ठानमा हुने सांस्कृतिक भजन कार्यक्रमका लागि साहित्य चौतारी झापाका संस्थापक देबीभक्त श्रेष्ठको संयोजकत्वमा समिति निर्माण भएको छ । समितिको सह–संयोजकमा साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियार, सचिवमा कृष्ण पौडेल, सह–सचिवमा भवानीप्रसाद पौडेल र सदस्यमा भानु शिवाकोटी, रमेश त्रिखत्री, मणि वर्देवा, पोष्टराज कट्टेल र उर्मिला दाहाल रहेको छन् । त्यस्तै संगीत संयोजकमा दीपक रायमाझी रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका महासचिव शिवलाल खतिवडा, कोषाध्यक्ष मोहन जोशीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेको थिए भने कार्यक्रमको सञ्चालन कृष्ण पौडेलले गरेका थिए । उक्त अनुष्ठान सम्पन्न गर्न अनुमानित ३ लाख रुपैयाँ खर्च हुने धामका कोषाध्यक्ष खतिवडाले बताए । अनुष्ठानमा ५० हजारवढि भक्तजनहरुको आगमन रहने आयोजक समितिले अनुमान गरेको छ ।