बिर्तामोड । 

प्रेस चौतारी नेपाल झापाको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी झापाका प्रथम अध्यक्ष नेत्रप्रसाद पाठकलाई अभिनन्दनसहित अग्रज पत्रकारलाई सम्मान गरिएको छ । 

बिर्तामोडमा शनिवार (आज) चौतारीले अग्रज पत्रकारहरु नकुल काजी, माधव विद्रोही, गोविन्दचन्द क्षेत्री, केशव आचार्यलाई सम्मान गरेको हो । त्यस्तै स्व.माया पकुवाललाई मरणोप्रान्त सम्मान गरिएको छ ।

 कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित व्यक्तित्वहरुलाई सम्मान गरेका थिए । स्वागत चौतारी झापाका सचिव प्रकाश पौडेलले गरेको कार्यक्रममा सम्मानीत ब्यक्तित्वका तर्फबाट गोविन्दचन्द क्षेत्री, पे्रस चौतारी नेपालका प्रदेश इन्चार्ज गणेश पोखरेल, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली, प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, फोनिज झापाकी अध्यक्ष भुमिका फ्याक लिम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

अभिनन्दन तथा सम्मान कार्यक्रमको सञ्चालन प्रेस चौतारी झापा इन्चार्ज सन्तोष आचार्य र एमाले झापाका प्रचारप्रसार विभाग प्रमुख गोपाल काफ्लेले गरेका थिए । प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रदीप परियारले गरेका थिए ।

samman

सोही कार्यक्रमका बिच सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण चाँडै हुने बताएका छन् ।  मुख्यमन्त्री कार्कीले सबै दलको सहमतिमा नामाकरण गरिने बताउँदै यदि सहमति हुन सकेन पनि संविधान र कानुन बमोजिम प्रदेशको नामाकरण हुने बताएका हुन् । 

पत्रकारको वृतिविकास, हित र सुरक्षाका लागि प्रदेश सरकारले कार्यदल बनाएर काम गर्ने उनले बताएका छन् । अघिल्लो सरकारले रोकेको पत्रकार सुरक्षा कोष र सञ्चार प्रतिष्ठानहरु कानुन बमोजिम चाँडै सुचारु गर्ने कार्कीको भनाई छ ।