झापा । 

झापाको दमक नगरपालिका वडा नम्बर २ नयाँ आम्दास्थित खरखरेबाट प्रतिबन्धित लागू औषधसहित तीन् जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दमक–८ शान्ति टोलका ३७ बर्षिय तेजकुमार खवास, दमक–२ का  ३५ बर्षिय सुनिल श्रेष्ठ र सोही स्थानका २२ बर्षिय बिजय धिमाल छन् । 

लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दमक–२ नयाँ आम्दा खरखरबाट प्र.१–०२–०४८ प ६६५७, ज १२ प ५५५७ नं.को मोटरसाइकलहरु र को २८ प ३१४६ नं.को स्कुटी रोकेर बसिरहेको शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ जम्मा १९ ग्राम, मोबाइल ४ थान र नगद ९७ हजार ६०० रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । 

उनीहरुलाई मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।