सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले १२ औं नगरसभा गरेको छ । नगरले बुधवार (आज) नगरसभा सम्पन्न गरेको हो । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको अर्धबार्षिक नगरसभामा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरमा भएका बिकास योजनाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । 

कार्यक्रममा नगर प्रमुख पोखरेलले आर्थिक बर्ष २०७९/०८० को ६ महिनामा नगरले गरेका कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । 

नगर उपप्रमुख शिवाकोटीले प्रस्तुत गरेको बिकास योजना प्रतिवेदन अनुसार एकसय १८ वटा योजना सम्झौता भएका छन् । जसमा २ लाख रुपैयाँ मुनिका ४५ वटा र २ लाख भन्दा माथि रुपैयाँका ७३ वटा मध्ये ३२ वटा योजना निर्माण सम्पन्न भएर बजेटसम्म निकासा भएका छन् । 

nagar sabha kankai

कार्यक्रममा आर्थिक बर्ष ०७६/७७ र ०७७/०७८ को विरिङ खोला नियन्त्रण र उत्खनन्को प्रतिवेदन वडा नम्बर १ का वडाध्यक्ष सुशिलकुमार पोखरेलले प्रस्तुत गरेका थिए । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, वडा नं. २ का वडाध्यक्ष प्रताप राई, ३ का वडाध्यक्ष युवराज चम्लागाई, ४ का वडाध्यक्ष रोषन सुवेदी, ५ का वडाध्यक्ष कृष्णबहादुर राई, ६ का वडाध्यक्ष  दीर्घबहादुर थापा, ७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, ९ का वडाध्यक्ष राजेन्द्र उप्रेती, कार्यपालिका सदस्य, वडा सदस्य तथा नगरका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । उपस्थिति नगरका जनप्रतिनिधिहरुले आ–आफ्नो सुझाव प्रस्तुत गरेको नगरका कर्मचारी बिजय पाठकले जानकारी दिए ।