झापा । 

झापाका बिभिन्न स्थानबाट प्रहरीले भारतबाट नेपालतर्फ अवैध रुपमा भञ्सार छलेर ल्याउँदै गरेको समानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ स्थित मितेरीटोलमा भारतबाट नेपालतर्फ अवैंध रुपमा भञ्सार छलेर नेपालतर्फ मोटर साइकलको स्पेयर पार्टहरु लिएर आउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी बाहुाडाँगीको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १६ प ९८५८ नम्बरको मोटरसाईकलसहित उक्त मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिकाका –६ का २३ बर्षिय सुशिल थापा र सोही स्थानका २१ बर्षिय सुमन थापालाई स्पेयर पार्टहरुसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई चेकजाँच गर्ने क्रममा ७६ हजार ७०५ रुपैयाँ मूल्य बराबरको मोटरसाइकलको स्पेयर पार्टहरु फेला परेको थियो । 

 मेचीनगर–६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले भञ्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १६ हजार रुपैयाँ बराबरको ३२ जोर जुत्ता नियन्त्रणमा लिएको छ । त्यस्तै प्रहरी बिट मेचीपुलको प्रहरी टोलीले ७ हजार ७४० रुपैयाँ मुल्य बराबरको मैदा पिठो ९६ किलो र ४९ किलो चिनी नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय नकलबन्दाको प्रहरी टोलीले मेचीनगर–५ मेची खोलाबाट भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको ३५ हजार रुपैयाँ बराबरको ४० थान कुर्थासुरुवाल नियन्त्रणमा लिएको छ । 

 त्यसैगरी जिल्ला प्रहरी कार्यालय झापा र ईलाक प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले मेचीनगर–७ स्थित टोकला गेटबाट यात्रु बाहक बसमा भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको दुई लाख रुपैयाँ बराबरको किराना सामान  नियन्त्रणमा लिएको छ । 

प्रहरीले नियन्त्रणमा लिएका सामाग्री आवश्यक कारवाहीका लागि सम्बन्धित भञ्सार कार्यालयहरु भद्रपुर र काँकडभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।