बिर्तामोड । 

झापाको बिर्तामोडमा आगामी फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवका बिषयमा बीरता लेडी जेसीजले विश्लेषण छलफल गरेको छ । 

महोत्सवको तयारी भइरहेकै समयमा सोमबार (आज) बीरता लेडी जेसीजले महोत्सव आयोजक संस्था बिर्तामोड उद्योग वाणिज्य संघसँग आवश्यक समन्वय तथा सहकार्यका विषयमा विश्लेषण कार्यक्रमको  छलफल अपनत्व लिने जनाएको हो ।

संघको आयोजनामा फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरिएको छ । महोत्सवमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने योजना बनाइएको छ ।

लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले बिर्तामोडका लागि अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव गौरवको विषय भएको बताउँदै यसलाई सफल पार्ने दायित्व पूरा गर्न आफ्नो नेतृत्व तयार भएको बताइन् । वाणिज्य संघको छत्रछायाँमा लेडी जेसीज अगाडि बढिरहेको जनाउँदै अध्यक्ष गिरीले चुनौतिलाई अवसरका रुपमा बदलेर सहकार्य गर्न आफूहरु जुटेको बताएकी छिन् । महोत्सवमा सामाजिक अभियानका कार्यक्रमलाई समावेश गरेर लैजाने र त्यसको दायित्व संस्थाले निर्वाह गर्ने अध्यक्ष गिरीको प्रस्ताव छ । संघले सरोकारवाला अरु संस्थालाई बोलाएर छलफल गरिरहेको अवस्थामा बीरता लेडी जेसीजले भने आफ्नै अग्रसरतामा छलफल आयोजना गरी महोत्सव सफलताका लागि आफ्नो रचनात्मक भूमिका रहने जनाएको छ ।

बीरता लेडी जेसीजकी अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालको प्रमुख आतिथ्य रहेको थियो । महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले देशव्यापी आर्थिक संकट र मन्दीका बीच व्यवसायिक क्षेत्रको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सवमा २५० वटा स्टल रहने व्यवस्था गरिएको छ । तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

महोत्सवका लागि संघले बिर्तामोडको रामचोक नजिक राजमार्गसँग जोडिएको खालीस्थान छनोट गरेको छ । संयोजक न्यौपानेले महोत्सवमा भारत, बंगलादेश र पाकिस्तानका उद्यमी पनि सहभागी हुने बताए ।

कार्यक्रममा प्रमुख अतिथि ढकाल, प्रदेश १ का सदस्य कुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, महिला उद्यमी संघकी अध्यक्ष तिलोत्तमा खत्री, शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा पत्रकार सुब्रत न्यौपाने, लेडी जेसीजकी अध्यक्ष सुष्मा भण्डारी, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोल, महिला चेम्वर झापाकी अध्यक्ष प्रेमा भट्टराई, सूर्याेदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनालीलगायतले आ–आफ्नो धारण राखेका थिए ।  

कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष मेनुका ओलीले स्वागत मन्तव्य राखेकी थिइन् । लेडी जेसीजकी निवर्तमान अध्यक्ष संगीता चिमरियाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । मुना ढुंगेलले आस्था बाचन गरेको कार्यक्रममा प्रभा रायमाझीले थिम बाचन गरेकी थिइन् । लेडी जेसीजकी महासचिव निशा शाक्यले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।