काठमाडौं ।

राष्ट्रिय सूचना आयोगले सूचना नदिने सिरहा नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले सिरहा नगरपालिकाको कार्यालय प्रमुख बलिराम यादवलाई  १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

आयोगबाट पटक–पटक भएको आदेशपछि पनि विपक्षीले पुनरावेदकले माग गरेको कुनै सूचना उपलब्ध नगराएकोले सिरहा नगरपालिकाको कार्यालय सिरहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई सो जरिवाना गरिएको हो ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार उक्त नगरपालिकासँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता हकले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरिएको थियो । पुनरावेदन दर्तापछि नगरपालिका प्रमुखलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको र कारबाहीको बारेमा सजग गराएको साथै चेतावनी दिँदासमेत प्रमुखले सूचना नदिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निज कार्यालय प्रमुखले सूचना उपलब्ध नगराई संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले जरिवानाको फैसला गरेको हो ।

सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम  १५ हजार रुपैयाँ जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले जानकारी दिए ।